गण्डकी प्रदेशभित्र सञ्चालन हुने विकासे आयोजनाको निगरानीको लागि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘वार रुम’ बनाउने भएका छन् । प्रादेशिक आयोजनाको निगरानी, अनुगमन र तत्काल समस्या समाधान गर्नुपर्ने विषय तथा दैविक प्रकोपका बेला यसको प्रयोग गर्ने गरी गण्डकी प्रदेशले ‘वार रुम’को अवधारणा अघि सारेको हो ।
। ‘प्रदेशको पहिलो नीति तथा कार्यक्रममै वार रुम खडा गर्ने कुरा सामावेस गरेका थियौं । प्रदेशका गौरवका आयोजनाको निगरानी, अनुगमन र तत्काल समस्या समाधान गर्नुपर्ने विषयलाई वार रुममार्फत समाधान गर्ने हो,’ मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भने, ‘विकास आयोजनादेखि प्रदेश प्रहरी, प्रशासनसम्म यो नेटवर्कमा हुनुपर्छ ताकी तत्काल समस्या समाधान गर्न सजिलो होस् ।’
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा युद्धस्तरमा काम गर्ने गरी यस्तो खालको कोठा तयार पार्ने र विकासको अवरोधले हटाउने योजना प्रदेश सरकारको छ । ‘प्रदेश सरकार नयाँ पनि छ र युद्धस्तरमा विकास निर्माणको कामलाई कार्यान्वयन गर्नुपर्छ,’ मुख्यमन्त्री गुरुङले भने, ‘प्रदेशमा वार रुम वा यस्तै प्रकारको युद्धस्तरमा काम गर्ने एउटा निकाय खडा गरेर जानुपर्छ भन्ने पहिल्यैदेखि लागिरहेको हो ।’
गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बिहीबार सातै मन्त्री, मन्त्रालयका सचिव लगायतको उपस्थितिमा यो अवधारणा सार्वजनिक गरेको छ । प्रदेशमा वार रुप सञ्चालन गर्न मुख्यमन्त्री गुरुङले युएनडिपीको सहयोग मागेका थिए । युएनडिपी प्रतिनिधि सन्दीप अर्यालले प्रदेशमा ‘वार रुम’ कसरी सुरु गर्ने, त्यसको जटिलता केके हुन्छन् र केके यसमा समावेस गर्न सकिन्छ भन्ने जानकारी गराए ।
‘यो डिजिटल प्रविधि हो । मुख्यमन्त्रीको कार्यालयको एउटा कोठाबाटै प्रादेसिक आयोजनाको निगरानी, अनुगमनदेखि तत्काल पर्ने समस्याको समाधान गर्न सकिन्छ । यो प्रविधि त्यति खिर्चिलो छैन,’ रिपब्लिक अफ अफ्रिकामा प्रादेशिकस्तरमा सञ्चालित वार रुमको उदाहरण दिँदै अर्यालले भने, ‘सूचना प्रविधिको प्रयोग गरेर अधिकतम् प्रयोग लिन सकिन्छ ।’
प्रदेशले १ करोड रुपैयाँको खर्चमा संरचनासहित वार रुम सञ्चालनमा ल्याउन सकिने अर्यालले भनाइ थियो । यस्तो रुम सञ्चालनमा आएपछि मुख्यमन्त्रीले प्रादेशिक आयोजनाको निगरानी, अनुगमन गरी तत्काल निर्देशन दिन सक्नेछन् ।