अर्बौं मूल्य बराबरको जग्गा कीर्ते जालसाजी गरी बेचेको अभियोगमा फरार रहेका जनकपुरस्थित रतनसागर मठका महन्त बैकुण्ठ दासलाई प्रहरीले सार्वजनिक गरेको छ ।
बिहिवार जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन गरी महन्त दासलाई सार्वजनिक गरेको हो । बुधवार साँझ काठमाडौंको बागबजारस्थित होटेल तिरुपतिबाट अपराध अनुसन्धान व्यूरो र जनकपुर प्रहरीको संयुक्त प्रयासमा दासलाई पक्राउ गरिएको धनुषाका प्रहरी उपरिक्षक गोविन्द थपालियाले जानकारी दिए ।
जनकपुरधाम–८ स्थित हजारी जनक विद्यापीठको नाउँमा रहेको जग्गा महन्त दास र उनका सहयोगी अशोक शर्माले मिलोमतो गरी किर्ते गरेको आरोप छ । दासका सहयोगी शर्मालाई प्रहरीले यसअघि नै पक्राउ गरी सकेको छ । साढे दुई अर्बभन्दा बढी मूल्य बराबरको विद्यापीठले भोगचलन गर्दै आइरहेको गुठीको उक्त जग्गाको संरक्षक दास र मोही शर्मालाई बनाइएको छ ।
हजारी जनक विद्यापीठले भोगचलन गर्दै आइरहेको करिब तीन बिघा जग्गा महन्त दासले नक्कली लालपुर्जा बनाइ हडपेको भन्दै प्राचार्य विजय चौधरीले अदालतमा मुद्दा दायर गरेका थिए ।
२०५० सालदेखि विद्यापीठले भोगचलन गर्दै आइरहेको सिट नम्बर १३५४,१४ को कित्ता नम्बर ६२ को २ कठ्ठा ११ धुर तथा सिट नम्बर १३५४ र १५ को कित्ता नम्बर २८ को २ बिघा ८ कठ्ठा १४ धुर जग्गा फर्जीलालपुर्जा बनाइ महन्त दासका सहयोगी शर्माले बेच्न खोजेका थिए ।
हजारी जनक संस्कृत विद्यापीठ जनकपुरको भोगमा रहेको गुठी संस्थानको नाममा रहेको करिब तीन विघा जग्गाको नक्कली लालपुर्जा घरमै बसेर बनाएर बेचेको प्रहरी उपरिक्षक थपालियाले जनाए ।केन्द्रीय गुठी संस्थानले विद्यापीठलाई उपलब्ध गराएको उक्त जग्गामा क्याम्पस व्यवस्थापनले घेराबेरा गरी भौतिक संरचनासमेत निर्माण गरिसकेको छ ।