प्रदेश नम्वर ५ को प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि शुरु हुदैंछ।
साउनमा अधिबेशन अन्त्य भएपछि ४ महिनासम्म सुरु हुन नसकेको अधिबेशन आज दिउँसो १ बजे बोलाइएको छ। कानुन निर्माणमा केन्द्रित हुने अधिवेशनका लागि सरकारले १५ भन्दा बढी विधेयक स्वीकृत गरिसकेको छ भने ४ वटा विधेयक प्रदेश सभामा दर्ता गरिसकेको छ। पहिलो दिनको बैठकमा समेत २ वटा बिधेयक पेश हुने जनाइएको छ।
प्रदेश नम्वर ५ जाच बुझ आयोगको गठन तथा काम कर्तव्य र अधिकारको सम्वन्धमा व्यवस्था गर्न बनेको बिधयेक एवं प्रदेश नम्वर ५ संघ सस्था दर्ता सम्वन्धमा व्यवस्था गर्न बनेको बिधयेक पेश हुने कार्यसूची रहेको छ। सोमवार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले २ वटा बिधयेक पेश गर्ने ६ वटा कार्यसूची तय गरेको थियो।
कार्यसूचीअनुसार १ बजे बैठक शुरु भएलगत्तै प्रदेश प्रमुख उमाकान्त झाबाट प्रदेश सभाको अधिवेशन आह्वान भएको पत्र र दोश्रो अधिवेशनबाट पारित भई प्रदेश प्रमुखबाट प्रमाणीकरण भएका विधेयकसम्बन्धी पत्रहरु सभामुख पूर्णबहादुर घर्तीले पढेर सुनाउने कार्यसुचि रहेको छ।
त्यसपछि दलको तर्फबाट प्रदेश सभाको बैठकमा प्रदेश सभा सदस्यहरुले धारणा राख्ने कार्यसूची छ। प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै दलका तर्फबाट एक एक जनाले धारणा राख्ने अनौपचारिक सहमति भएको छ। बैठकमा विशेषाधिकार समितिको सभापति र प्रदेश नम्बर ५ को नामाकरण र स्थायी राजधानी सम्बन्धी विशेष समितिको संयोजक चयन गरेको सम्वन्धमा तथा विशेष समितिको प्रतिवेदन बुझाउने समय थप गरिएको सम्वन्धमा सभामुख घर्तीले सभालाई जानकारी गराउने कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिए।
प्रदेश सभा सचिवालयले हिउदे अधिबेशनको प्रदेश सभा सचिवालयले तयारी तिब्र पारेको छ। प्रदेश सभामा प्रतिनिधित्व गर्ने ५ वटै दललाई सदीय दलको कार्यालय उपलब्ध गराउन प्रदेश सभासंगै रहेको नेपाल मानव सेवा धर्मको सभामा पार्टेसनको काम अन्तिम चरणमा पुगेको छ।
प्रदेश सभामा प्रतिनिधित्व गर्ने सत्तारुढ दल नेकपा, प्रमुख बिपक्षी दल नेपाली काग्रेस सहित मधेशी जनाधिकार फोरम नेपाल, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय जनता पार्टीलाई संसदीय दलको कार्यालय उपलब्ध गराइने छ।
त्यस्तै प्रदेश सभा सदस्यहरुको अध्ययनका लागि प्रदेश सभा नजिकै रहेको महिला जेसिजको भवनमा पुस्तकालय समेत तयार गरिने छ।