महासमिति बैठक शुरु हुनु अघिल्लो दिन नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदीले गरेको महासमिति सदस्य मनोनयन खारेजीको माग गर्दै पर्सा कांग्रेसका नेताहरुले पार्टी केन्द्रीय कार्यालय सानेपामा उजुरी दिएका छन्।
जिल्ला अधिवेशनका समयमा महासमिति सदस्यको निर्बाचन हुन नसकेपछि पर्सा सभापति द्विवेदीले बिहीबार गरेको महासमिति सदस्य मनोनयनको निर्णय खारेजीको माग गर्दै पूर्ब साँसद एवं प्रदेशसभा सदस्य ओमप्रकाश शर्मासहित प्रेमचन्द्र दुबे, रोशनमान सिं, सकल पासवान र किरण सरकारले सानेपामा उजुरी दर्ता गरेका हुन्। उनीहरुको उजुरी नम्बर ७५ छ । प्रदेश साँसद शर्मा पार्टीको जिल्ला अधिवेशनमा सर्बाधिक मत ल्याएर महाधिबेशन प्रतिनिधि निर्बाचित भएका थिए।
जिल्ला सभापति द्विवेदीले गरेको मनोनयनप्रति पर्साबाट प्रतिनिधित्व गर्ने कांग्रेसका दुई केन्द्रीय सदस्यले समेत आपत्ति जनाएका छन्। केन्द्रीय सदस्य अजय चौरसियाले भने ‘पार्टीको आधिकारिक उम्मेद्वार विरूद्ध बागी दिन लगाउनेलाई महासमिति सदस्यमा मनोनित गरेर सभापतिले पुरस्कृत गर्ने काम गरेका छन्।’
अर्का केन्द्रीय सदस्य रमेश रिजालले सभापति द्विवेदीले गरेको निर्णय अबैधानिक भएको प्रतिकृया दिए। द्विवेदीले पर्सा क्षेत्र नम्बर १ बाट राजेन्द्रबहादुर अमात्य, प्रकाश उपाध्याय, रामरुप कुर्मी, नरेन्द्र साह र उपमा प्याकुरेल तथा क्षेत्र नम्बर २ बाट द्विवेदी आफूसहित, बिजय कर्ण, डा. भगवान यादब, शम्भु हजारा र शान्ति कार्कीलाई मनोनयन गरेका छन्।
सभापति द्विवेदीले मनोनयन गरेका डा भगवान तिनै व्यक्ति हुन् जसले गत स्थानीय तह निर्बाचनमा बीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ को चुनावमा पार्टी उम्मेद्वार सुमनदास चौधरी विरूद्ध अभय दास ठाकुरलाई चुनाव उठाएका थिए। यद्यपि सो वडामा आधिकारिक उम्मेद्वार चौधरीले नै जितेका थिए।
पार्टीको आधिकारिक उम्मेद्वारविरूद्ध जसले बागी उम्मेद्वार खडा गर्यो उसैलाई महासमिति सदस्यमा मनोनित गरेकोमा वडा अध्यक्ष चौधरीले आपत्ति जनाएका छन्।