गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवर वकालतमा लामै समय बिताए । वर्तमान संविधान जारी हुने बेला उनी महान्यायाधिवक्ता थिए । केपी शर्मा ओली अघिका प्रधानमन्त्री शेरबहादुर देउवाले जाँदा जाँदै ७ वटै प्रदेशमा प्रदेश प्रमुख नियुक्त गरे । त्यसमध्ये १ हुन् बाबुराम कुँवर । अर्घाखाँचीमा जन्मे हुर्केर पोखरामा क्याम्पस तह अध्ययन गरेका कुँवरले कार्यक्षेत्र पोखरालाई नै रोजे । आफूलाई मन पर्ने ठाउँ भएकाले पोखरा रोजेरै आएको उनले सार्वजनिक रुपमै व्यक्त गर्दै आएका छन् ।
वकालती पेसामा लागेको, धेरै मानिससँग घुलमिल गरिरहेको र कमाइ पनि अहिले भन्दा राम्रै भएको भन्दै अहिलेको पदप्रति उनले बेखुसी पनि व्यक्त गर्दै आएका छन् । शनिबार पनि यस्तै भयो पोखराको १ कार्यक्रममा । झण्डै आधार घन्टाको भाषणको अन्त्यतिर हुने निकै निराशापूर्ण भावना व्यक्त गरे ।
नेपाल कानुन समाजद्वारा आयोजित नेपालको संवैधानिक विवाद समाधानका लागि अन्तर प्रदेश परिषद् र संवैधानिक इजालसको प्रभावकारिता विषयक छलफल कार्यक्रममा उनको भनाइ थियो,‘प्रदेश प्रमुख भएपछि नबोली बस्नुपर्छ, मैले भनेँ म नबोली बसेँ भने बहुलाउँछु, म यहाँ आधि बहुलाएको छु ।’ उनले थपे, ‘अहिले धेरै ठूला मानिसहरु हुनुहुन्छ, प्रदेशमा बस्नेको अहिले केही छैन, यस्ता व्यतिmत्वको अगाडि यो कुरा मैले आफ्नै मान्छे सोचेर भनेको छु । मैले चिनेको मान्छे आए भने बोली निस्कन्छ, यो मेरो वाध्यता पनि होला, यसलाई मैले नागरिकको कर्तव्यसँग जोडेको छु ।’उनले देशमा राजनीतिक दलको कामले जनतामा निराशा छाउँदै गएको भन्दै आफूमा पनि यस्तो देखिन थालेको प्रदेश प्रमुख कुँवरले बताए ।
न्याय परिषद्को संरचना धेरै आलोचित भइसकेको उनको भनाइ थियो । न्याय परिषद्मा मात्र नभएर संवैधानिक इजलासको जुन गतिविधि र प्रकृति छ, यसको काम कसरी हुने हो, यो कैले हुने प्रश्न गरे । जसलाई जे गर्न राखिएको हो, त्यसले त्यो नगरेपछि यस्तो समस्या भएको कुँवरको भनाइ छ । ‘संवैधानिक परिषद्को गल्ती किन बन्यो, संवैधानिक परिषद्मा के कुराको कमी छ र गल्ती हुने ?’ उनले भने,‘विधिले मानिसलाई राज गर्ने कि मानिसले विधिलाई राज गर्ने, कुरा यति हो ।’ विधि र नीतिले राज गरेन भने हरहमेसा यस्तै हुने उनको धारणा थियो ।उनले संविधान लागु नभएमा सबैले लाज मान्नुपर्ने बेला आउन सक्ने बताए । धेरै टाढा छैन, म म हुँ भनेर लाज मान्नुपर्ने अवस्था आउँदै गरेको उनले बताए ।
गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले आफू पुर्णरुपमा मन्त्री भएको महसुस गर्न नपाएको गुनासो गरे । ‘मैले आजभोलि भन्छु कानुनमन्त्री आलिअलि भएको छु किनभने कानुनको काम अलिअलि भएको छ,’ चुमानले भने, ‘अन्य काम गर्न पाएको छैन,आफूआधि मन्त्री भएको छु ।’
कार्यक्रममा पूर्व प्रधानन्यायाधीशकल्याणश्रेष्ठले नेपालमा संविधान सच्याउने तर आफू नसच्चिने अवस्था रहेको बताए । नेताहरुले आपूmभित्र भएको सोच परिवर्तन गर्नुपर्ने उनको भनाइ थियो । उनले जनतालाई निराशा बनाउन नहुने र निराशाको कारण द्वन्द्व हुनसक्ने शंका गरे ।
कार्यक्रममा सहभागी मुस्ताङ घरपझोङ गाउँपालिकाकी उपाध्यक्ष शर्मिला गुरुङले आफ्नो गाउँपालिका र थासाङ गाउँपालिकाबीच जग्गा विवाद भएको बताइन् । उक्त समस्याको समाधान गर्न देशमा कानुन नभएको भन्दै गाउँपालिकाका केही योजना नै अलपत्र परेको उनले बताइन् ।