मंसीर १८ गते बिहान इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरको २ सय मिटर दक्षिणस्थित राप्ती खोला बगरमा एउटी बालिकाको लाश फेला पर्छ । गोठाला गएकाहरुले नकुहिएको, नगनाएको अबस्थाको १,२ बर्षकी बालिकाको लाश दुईवटा ढुंगाको बीचमा फेला पारेपछि प्रहरीलाई खबर गर्छन् ।
गाउँभरि सनसनी फैलन्छ, के कसरी बालिकाको शव त्यहाँ पुग्यो ? खोलाले बगाएको भनूँम् भने बर्षायाम होइन । लाश पानी भएको खोलाको बीचमा पनि छैन । कसैले यहाँ ल्याएर हत्या गर्यो कि भन्ने अनुमान गर्न पनि नसकिने अबस्था छ । किनकी नजिकै प्रहरी कार्यालय र गाउँलेका घरहरु छन् । घटनाले सनसनी रुप त लियो, तर को कहाँको बालिका मरिन् वा मारिइन् कसैले अनुमान नै लगाउन नसकेपछि अन्ततः बेवारिस शवको रुपमा हेटौँडा अस्पतालको मुर्दाघरमा बस्यो । प्रहरीले कुनै भेउ पाउन सकेन ।
चारदिनपछि अर्थात २२ मंसीरमा अर्काे सनसनी फैलियो । चारदिनअघि बालिका भेटिएको बगर नजिकै अर्की एक महिलाको शब बालुवामा गाडिएको अबस्थामा फेला पर्यो । हेटौँडा उपमहानगरपालिका १९ स्थित नेवारपानी र सान्ननटारका बासिन्दामा त्रास छायो । एकसाता नबित्दै दुईवटा लाश फेला पर्न थालेपछि उनीहरु तनावमा परे । प्रहरीले महिलाको लाससँगै एउटा डायरी फेला र बालिकाले लगाउने जिन्स पाइन्ट बरामद गर्यो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले यसअघि नै बालिकाको शवबारे अनुसन्धान गर्न प्रहरी निरीक्षक मधुकुमार थापाको नेतृत्वमा टोली गठन गरिसकेको थियो । थप महिलाको शब भेटिएपछि प्रहरीको अनुसन्धान महिला र बालिकाबीच के नाता सम्बन्ध थियो भन्नेतिर मोडियो । डायरीमा भएभरका नम्बरमा फोन गरेपछि कुरा खुल्दै गयो–मृतक दुबैजना भारतीय नागरिक रहेछन् । आमा २५ बर्षीया लालमति खान् र छोरी १ बर्षीया रोशन खान् भएको पहिचान गरे मृतक लालमतिकी बुवाले छोरी र नातिनीको लासको सनाखत गरे ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार भारतको मोतिहारी जिल्ला पूर्वी चम्पारण आदापुर थानाग्राम माघिबर्वा वडा नं ६ निबासी मृतक लालमतीको वुवा र रोशनकी हजुरवुवाले लास बुझेर जाहेरी दर्ता गरेपछि प्रहरीले उनका श्रीमानलाई खोजी सुरु गर्यो ।
प्रहरीले हेटौँडा उपमहानगरपालिका ५ स्थित एक घरमा डेरा गरी बस्नेगरेका उनका भारतको मोतिहारी थाना रामगढवा ग्रामपन्चायत बेलहिया ८ घर भएका श्रीमान मोहम्मद रमजान मिया दर्जी र उनका भाई अरमान मिया मिलेर लालमति र रोशनको हत्या गरी नेवारपानी छेउको राप्तीखोला बगरमा फालेको भन्ने तथ्य पत्ता लगायो । घाँटी थिचेर लालमती र रोशनको हत्या गरी राप्तीखोला बगरमा फालेको रमजानले स्वीकारेका छन् ।
प्रहरीले पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार श्रीमतीसँग झगडा परिरहने, माइत गइरहने, अर्कैसँग लसपस भएको आशंकाले गर्दा आफू र भाई मिलेर छोरी र श्रीमतीको हत्या गरेको रमजान मिया दर्जीले स्वीकारेका छन् ।
डेराबाट आफू, भाई, श्रीमती र छोरी निस्केपछि रमजान डेरामा नफर्किएको पाइएको थियो । लुकीछिपी हेटौँडामै बस्दै आएका रमजानलाई मंसीर २९ गते पक्रेपछि घटनाको सत्यतथ्य खुलेको हो । हत्यामा संलग्न भाई अरमान मिया अझै फरार छन् । उनीहरुलाई मुलुकी फौजदारी अपराध संहिता ऐनको परिच्छेद १२ बमोजिम ज्यानसम्बन्धी कसुरमा मुद्दा चलाउने गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बुद्धिराज गुरुङले बताए ।