सर्वोच्च अदालतले कैलालीको टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीलाई छोड्न अस्वीकार गरेको छ। सर्वोच्चको यो आदेशसँगै निलम्बित सांसद चौधरी कारागारमै रहनेछन्।
निलम्बित सांसद चौधरीले जिल्ला अदालत कैलाली र उच्च अदालत दिपालयको आदेश खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले सोमबार चौधरीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै जिल्ला अदालत र उच्च अदालतको फैसलालाई सदर गरेको हो।
‘अभियुक्त चौधरीले कसुर गरेको भनी विश्वास गर्न सकिने पर्याप्त र मनासिव आधार विद्यामान रहेको भन्ने २०७४ फागुन १४ को जिल्ला अदालतको आदेश र उच्च अदालत दिपायलको २०७४ चैत २२ को आदेश सही ठहरिएको छ,’ सर्वोच्चको आदेशमा भनिएको छ। चौधरी जिल्ला र उच्च अदालतको आदेशविरुद्ध गत असार ५ गते सर्वोच्च पुगेका थिए।
गत २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा चौधरीको नेतृत्वमा भएको थारु आन्दोलनका क्रममा एक नाबालक, नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जनाको मृत्यु भएको थियो। घटनापछि फरार भएका चौधरीले केही महिनाअघि कैलालीमा आत्मसमर्पण गरेका थिए। त्यसपछि प्रहरीले उनलाई पक्राउ गरी पुर्पक्षका लागि कारागार चलान गरेको थियो।
यसअघि पुस १९ गते प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित चौधरीलाई सिंहदरबारमा सपथ खुवाएका थिए। सपथ ग्रहणका लागि प्रहरीले चौधरीलाई सिंहदरबार ल्याएर सपथपछि डिल्लीबजारस्थित कारागारमै फिर्ता लगेको थियो।