आन्तरिक विवादमा फसेको 'विवेकशील साझा पार्टी' अन्तत: विभाजित भएको छ ।
उज्वल थापाले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन् ।पार्टीको नाम ‘विवेकशील नेपाली दल’ प्रस्ताव गरिएको छ । नयाँ पार्टीमा प्रदेश ३ का तीनै जना प्रदेश सांसद्हरु शोभा शाक्य, विराजमान श्रेष्ठ र रमेश पौडेल, रञ्जु दर्शना लगायतका नेताहरु समाहित भएका छन् ।
३७ सदस्यीय केन्द्रीय समितिका सदस्य मध्य १६ जना दल दर्ताका लागि निर्वाचन आयोग पुगेका थिए। संयाेजक मध्येका मिश्रले एकलौटी रुपमा ५ जना केन्द्रीय सदस्य थप गरेको, सहमतिबीनै प्रदेश संयोजक थप गरेको र १२ वटा विभाग खारेज गरेपछि विवाद उत्पन्न भएको थियो ।
स्थानीय तहको निवार्चनमा विवेकशील र साझा पार्टीले राम्रो मत ल्याएपछि प्रतिनिधि सभाको निवार्चनमा धेरै सिटमा विजय हासिल गर्ने दावी सहित यी दुईपार्टी एक भएका थिए।
पार्टी संयोजक रहेका रवीन्द्र मिश्र एकलौटी ढंगले अगाडी बढेको र व्यक्तिगत प्रचारमुखि भएको आरोप लगाउदै केहीदिन अघि उज्वल थापाले समिक्षा प्रतिवेदन सार्वजनिक गरेका थिए । उनको प्रतिवेदन सार्वजनिक भएपछि किचलोमा रुमलिएको 'विवेकशील साझा पार्टी' भित्रको विवाद छताछुल्ल भएको थियो ।
यसैबीच, पार्टी विभाजन पछि संयोजक मिश्र पक्षले ३० पुसमा केन्द्रीय सदस्यको बैठक बोलाएका छन् ।