नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले दुुईजना पाइलटले हाँकेको भनिएको जेटको गतिहिन अबस्थाप्रति व्यङ्ग्य गर्दै नेकपाका अध्यक्षद्वय केपी ओली र पुुष्पकमल दाहाल ड्राइभरमात्र भएको टिप्पणी गरेका छन्।
‘ओलीले आफू र दाहाललाई जेटको पाइलट भन्नुभएको थियो, त्यस्तो होइन रहेछ,’ उपसभापति निधिले भने, ‘उहाँहरु एकजना जहाजको पाइलट र अर्को रेलको ड्राइभरमात्र हुनु हुँदो रहेछ।’
एकजना पाइलट ओलीले बाटो बिराएकोतर्फ इंगित गर्दै निधिले दाहाललाई भने,‘अर्को पाइलट तपाईँ हुनुहुुन्छ, दुर्घटनाबाट जोगाउनु होला।’ एमाले–माओवादी केन्द्रबीच एकता भएपछि दुईजना अध्यक्ष किन बनाइयो भन्ने सम्बन्धमा ओलीले भनेका थिए, एकता पछि नेकपा जेट विमान जस्तो ठूलो भयो, त्यसैले जेटमा जस्तै दुईजना पाइलट (अध्यक्ष) राख्नु परेको हो।
शुक्रबारदेखि शुरु भएको दोस्रो आरुघाट महोत्सवको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस उपसभापति निधिले सरकारको गतिहिनताप्रति टिप्पणी गरेपछि त्यसको जबाफमा अध्यक्ष दाहालले भने–‘ पार्टी एकताका सन्दर्भमा २०७४ असोज १७ गते अध्यक्ष ओलीजीले टेक्पो र जेटको प्रसंग उल्लेख गर्नु भएको थियो। पार्टी एकतापछि टेम्पो जस्तो एउटा ड्राइभरले सरकार चलाउँने होइन, जेटमा जस्तो दुुईजना पाइलट चाहिन्छ भन्नु भएको हो।’
निधिले शान्ति प्रकृयामा खेलेको भूमिकाबाटै क्षमता प्रदर्शन भइसकेको भन्दै दाहालको प्रशंसा गरेका थिए। ‘म र ओलीजीबीच बिबाद बढोस् भनेर निधिजीले त्यसो भन्नु भएको भए त्यो चाहना पूरा हुदैन’ जबाफमा दाहालले भने‘राम्रो नियतले भन्नु भएको भए धन्यवाद।’ तर दाहालले सरकारको कामको समीक्षा गर्दै भएका कमजोरी सच्याउन आफूहरु प्रतिबद्ध रहेको बताए।
‘सरकारमा बसेर राम्रो काम गर्न सक्यौँ भने अर्काे चुनावपछि पनि हामी नै आउँला। हामीले राम्रो गरेनौँ भने अर्काे आउने भनेको कांग्रेस नै हो’ निधितिर हेर्दै दाहालले भने ‘त्यसैले, नेपाली कांग्रेसका नेताहरुले अहिले नै धेरै टेन्सन नलिए हुन्छ।’