प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले नेपाल टेलिभिजन र रेडियो नेपाललाई जनमैत्री र प्रभावकारी बनाउन निर्देशन दिएको छ ।
सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले प्रविधीको विकाससंगै प्रशारणलाई स्तरोन्नती गर्दे जनमैत्री र प्रभावकारी बनाउन नेपाल टेलिभिजन र रेडियो नेपाललाई निर्देशन दिएको हो । त्यस्तै नेपाल टेलिभिजनले तिर्दे आएको स्याटेलाईट शुल्क अन्य टेलिभिजनको तुलनामा निकै महङ्गो देखिएको भन्दै त्यसलाई समयसापेक्ष बनाउन सञ्चार मन्त्रालयलाइ निर्देशन दिएको छ ।
बैठकले नेपाल टेलिभिजन र रेडियो नेपाललाई गाभेर एउटै सार्वजनिक प्रशारण संस्था बनाउने बिषय सरकारको नीति तथा कार्यक्रमभित्र रहेको भन्दै त्यसलाइ तत्काल कार्यान्वयनमा लैजान पनि सञ्चारमन्त्रालयलाइ निर्देशन दिएको छ ।
बैठकमा सांसदहरुले सरकारी सन्चारमाध्यमको लोकप्रियता खस्कँदै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए । बैठकमा सञ्चार तथा सूचना प्रबिधि मन्त्री गोकुल बास्कोटाले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई अब बीबीसी र जापानी मोडेल(एनएचके)मा लैजाने बताए । माघ १७ गतेबाट नेपाल टेलिभिजन एचडीमा जाने मन्त्री बास्कोटाले बताए ।