कमजोर प्रविधि र सेटिङका कारण बदनाम हुँदै आएको नेपालको अध्यागमन विभागलाई प्रविधिमार्फत अत्याधुनिक बनाउने प्रक्रिया सुरु भएको छ। अध्यागमन सुधारका लागि विगतदेखि पहल हुँदै आए पनि सरकारले बजेट छुट्याउने गरेको थिएन।
जसले गर्दा विदेशी सहयोग भए पनि विभागमा सुधारको काम रोकिएको थियो। विभागले आधुनिकीकरणकै लागि दुईजना थप इन्जिनियर राखेर प्रक्रिया अघि बढाइसकेको जनाएको छ।
नेपालको अध्यागमनको कमजोर प्रविधिकै फाइदा उठाउँदै मध्यपूर्वी देशका नागरिकले नेपाललाई ट्रान्जिट बनाई नक्कली पासपोर्ट युरोप जाने गरेको फेला परेको थियो। यही कारण नेपालको अध्यागमन बदनाम हुँदै आएको छ। नयाँ प्रविधिको जडानपछि यस्तो प्रवृत्ति रोकिने अध्यागमन अधिकारीहरूको विश्वास छ।
असार महिनाभित्रै नयाँ प्रविधि जडान भइसक्ने विभागले जनाएको छ। सन् २०२० लाई सरकारले ‘भिजिट वर्ष’ का रूपमा मनाउन लागेकाले त्यसअघि अध्यागमनमा व्यापक सुधार गर्न लागिएको हो।
विकसित देशका अध्यागमन प्रयोग भएका प्रविधि जडान गर्न सरकारले अध्यागमनलाई सात करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। बजेट आएसँगै अध्यागमनमा व्यापक परिवर्तन ल्याइने प्रक्रिया सुरु गरिएको अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले बताए।अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)ले अध्यागमनलाई महत्वपूर्ण डाटासहितको डिभाइस दिने भएको छ।
त्यससम्बन्धी प्रस्ताव गृह मन्त्रालयमा पुगेको छ। यसअघि नेपाल प्रहरीले इन्टरपोलले दिएको डिभाइस र डाटाअनुसार विमानस्थलमा कालोसूचीमा रहेका व्यक्तिहरूलाई पक्राउ गथ्र्याे। नयाँ पत्रिका दैनिकमा खबर छ।