गोरखाको आरूघाट जाने भनेपछि मलाई घरबाट माइत हिड्न लागेकी चेलीलाई जस्तो हुन्छ। आरूघाटमा केही कार्यक्रम हुन लाग्यो र त्यही दिन अन्यत्रबाट पनि निम्ता आयो भने मेरो प्राथमिकता आरूघाट नै हुन्छ।
दोस्रो आरूघाट महोत्सवको निम्ता दिन साथीहरू आउनुु भएको थियो मेरो घरमा। आरूघाटको कार्यक्रम भन्नासाथ केही पनि नसोची मैले उहाँहरूको निम्तो स्वीकारेको हुँ। २४ वर्षको उमेर भनेको हरेकका लागि जीवनको सबैभन्दा उर्जाशील समय हो। त्यही बेला यहाँको भीमोदय हाइस्कुलमा केही गर्ने लक्ष्यका साथ म पढाउन आएको थिएँ। मेरो उर्जाशील उमेर यहीँ बितेको हो। जतिबेला म यो स्कुलमा पढाउन आएको थिएँ।
एसएलसीमा एक जना विद्यार्थी पनि पास भएका थिएनन्। मैले पढाउन शुरू गरेपछि पहिलो वर्षमै आठ जना विद्यार्थी पहिलो श्रेणीमा पास भए। अन्य श्रेणीमा अत्याधिक विद्यार्थी पास भए। त्यसपछि नै भीमोदय हाइस्कुल यो क्षेत्रको राम्रो विद्यालयमा गनिएको हो। जतिबेला चीनकाजी श्रेष्ठ, रामकुमार श्रेष्ठ जस्ता योग्य शिक्षक यहाँ हुनुुहुुन्थ्यो।
म कृषि विषयको शिक्षक। यहाँका किसानसँग पनि मेरो उत्तिकै घनिष्ठ सम्बन्ध थियो। यहाँका जात्रा र पर्वमा हामी खुुबै रमाउथ्यौं। उतातिर धादिङको सल्यानबेशीमा ठूलो जात्रा लाग्थ्यो। त्यस्ता जात्रामा रातभरि नाचेको थिएँ म। म यहाँका मेलापातमा, चाडपर्वहरूमा सहभागी हुन्थेँ। यस्ता धेरै स्मरण मसँग आज पनि ताजै छन्। आरूघाट आएपछि यहीँ बस्न मन लागिरहन्छ, छाड्नै मन लाग्दैन।
तर, मेरो जिम्मेवारी ठूलो छ। त्यसैले यहाँबाट हिँडे पनि आरूघाटको याद मलाई पल पलमा आइरहन्छ। मलाई आजको यो ठाउँमा आइपुुग्न आरूघाटको पनि योगदान रहेको छ। त्यसअर्थमा म आरूघाट र यहाँका दाजुुभाइ दिदीबहिनीहरूप्रति सदैव ऋणी छुु।
अहिले फर्केर हेर्दा लाग्छ, मेरो जीवनकै सबैभन्दा आनन्दका दिन मैले आरूघाटमा बिताएको रहेछु। तीन वर्ष आरूघाटमा पढाएपछि सक्रिय राजनीति शुरू गरेको हुँ। यहीबाट देश र जनताको निम्ति समर्पित भएर हिँडेको हुँ म। त्यतिबेलाको संकल्प पूरा गर्ने अभियानमा हामी छौं।
शान्ति प्रक्रियामा आएपनि संविधानसभाबाट संविधान जारी भएको छ। जारी भएको संविधान कार्यान्वयन गर्नु अबको प्रमुख दायित्व हो। यसका साथै शान्ति प्रक्रियाका बाँकी काम टुुंग्याउनुु पर्दछ। त्यसका लागि सबै दलको उत्तिकै सहयोग आवश्यक हुन्छ। यस्ता मुुद्दामा सत्तापक्ष र प्रतिपक्षी नभनी मिलेर अघि बढ्न म विपक्षी दलका साथीहरूलाई समेत आग्रह गर्दछुु।
(२७ पुसमा आयोजित दोस्रो आरूघाट महोत्सवमा नेकपा अध्यक्ष पुुष्पकमल दाहालले व्यक्त गरेको विचारको सम्पादित अंश)