नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकको विकास र समृद्धिका लागि सत्ता र प्रतिपक्ष एकै ठाउँमा रहेको बताएका छन्।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको पाँचौँ राष्ट्रिय अधिवेशनलाई शनिबार काठमाडांैमा सम्बोधन गर्दै प्रचण्डले विकासका लागि अहिले ऐतिहासिक अवसर आएको भन्दै यसलाई सदूपयोग गर्नुपर्ने बताएका हुन्। अहिले पनि आपसी मतभेदलाई अन्त्य गरेर मुलुकको विकासमा नलागे जनताले माफी नदिने उनको भनाइ छ।
प्रचण्डले जनताले कम्युनिष्ट, कांग्रेस भनेर नछुट्याउने भएकाले विकास, समृद्धि दियो कि दिएन र आफ्नो जीवनमा सकारात्मक परिवर्तन भयो कि भएन भन्ने आधारमा सरकार र पार्टीको मूल्यांकन गर्ने जिकिर गरे। निजी क्षेत्रलाई प्रोत्साहन नगरिकन आर्थिक समृद्धिको यात्रा अगाडि बढ्न नसक्ने उनको तर्क छ। उनले राष्ट्रिय पुस्तक नीति तय गरेर त्यसलाई व्यवहारिक रुपमा कार्यान्वयन गराउन आफ्नो तर्फबाट सक्दो प्रयास हुने समेत बताए।
कार्यक्रममा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले निजी क्षेत्रको विकास र विस्तारका लागि आफ्नो पार्टीले विगतदेखि नै सकारात्मक प्रयास गरेको भन्दै आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने बताए। आइतबारसम्म चल्ने अधिवेशनले महासंघको नयाँ नेतृत्व चयन गर्नेछ।