राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गरिबीको रेखामुनी रहेका सर्वसाधारण जनतालाई विभिन्न प्रलोभन देखाएर धर्म परिवर्तन गराउने क्रम जारी रहे निकट भविस्यमै नेपालमा धार्मिक युद्ध हुने खतरा रहेको बताएका छन् ।
राप्रपा जिल्ला कार्य समिति ललितपुरले आयोजना गरेको सनातन हिन्दु राष्ट्र पुनःस्थापना जनजागरण अभियानलाई सम्बोधन गर्दै अध्यक्ष थापाले नेपाललाई धर्म निरपेक्ष बनाउनमा ०६२ र ०६३ को आन्दोलनको माग नभएको बताउदै परिवर्तनकारी भनाउने दलका केही नेताहरु आफ्नो सिमित स्वार्थको लागि पश्चिमाहरुले नेपाललाई सास्कृतिक उपनिवेश बनाउने उदेश्यलाई परिपूर्ती गराउन मोहोराको रूपमा प्रयोग भएको स्पष्ट भैसकेको बताए ।
राजनीतिक लेप लगाएर जबर्जस्ती थोपरिएको धर्म निरपेक्षको फोहोरलाई सफा गरेर राजनीतिक तवरबाट नै हिन्दु राष्ट्र पुनःस्थापना गराउनुपर्ने भएकोले नै हिन्दुराष्ट्रलाई पार्टीले मुख्य एजेन्डा बनाएको थापाले स्पष्ट पारे । नेपालीहरुको एकताको आधार सनातन धर्म नै भएकोले हिन्दु राष्ट्र पुनःस्थापना गराएरै छोडने प्रतिबद्धता समेत व्यक्त गरे ।