प्रदेश ३ सरकारले एकीकृत नमूना बस्ती निर्माण गरी बसोबास व्यवस्थित गर्ने तयारी थालेको छ ।
यसका लागि प्रदेश सरकारले सुरुमा हेटौँडा उपमहानगरपालिका १८ स्थित बाँसघारी बस्तीलाई सोही वडाको हटियामा सार्न लागेको जनाइएको छ । झण्डै ५ दर्जन घरहरु चुरेको कटान तथा पहिरोको जोखिममा रहेका कारण प्रदेश सरकारले एकैनाशका घरहरु निर्माण गरी एकीकृत बस्ती बसाल्ने तयारी गरेको हो ।
आइतबार ३ नं प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले बाँसघारी बस्ती सारेर एकीकृत नमूना बस्ती बनाउनका लागि संघीय सरकारसँग जग्गाको स्वीकृति प्रदान गर्न आग्रह गर्ने निर्णय गरेको मन्त्रीपरिषद कार्यालयले जनाएको छ । ‘अरु जिल्लाका थुप्रै बस्तीहरु एकीकृत बस्तीको रुपमा विकास गर्नुपर्ने मागहरु आइरहेका छन्’, मन्त्रीपरिषद कार्यालय स्रोतले भन्यो–‘उनीहरु पाइपलाइनमा छन् भने हटियामा बस्ती बसाउने बिषयले तत्कालै पहिलो प्राथमिकता पाएको छ ।’ प्रदेश सरकारले आफ्नो नीति कार्यक्रममा एकीकृत नमूना बस्ती निर्माणको योजना उल्लेख गर्दै चालू आर्थिक बर्षमा खर्च गर्नेगरी २० करोड रुपियाँ बिनियोजन गरेको छ ।
यसैबीच मन्त्रिपरिषद बैठकले प्रदेश विश्वविद्यालय स्थापना र सञ्चालन सम्बन्धमा अध्ययन कार्यदल गठन गर्ने, आर्थिक प्रदेश आर्थिक ऐन २०७५ संशोधन गर्ने, प्राकृतिक श्रोत शुल्क तोक्ने लगायतका बिषयहरु पनि निर्णय प्रक्रियामा लगी टुंग्याएको जनाएको छ । गाई प्रबद्र्धन कार्यक्रम सञ्चालन कार्यविधि २०७५ को मस्यौदा, पाडा पालन कार्यक्रम सञ्चालन कार्यविधि २०७५ को मस्यौदा, उच्च प्रजननमानको बोयर जातको बाख्रा श्रोत केन्द्र निर्माण तथा सञ्चालन कार्यविधि २०७५ को स्विकृति, बाख्रा प्रवद्र्धन कार्यक्रम सञ्चालन कार्यविधि २०७५ को मस्यौदा, दुध चिस्यान केन्द्रका लागि चिलिङ्ग भ्याट स्थापना गर्ने कार्यविधि २०७५ लाई पनि मन्त्रिपरिषद पारित गरेको छ ।
त्यसैगरी साझेदारीमा आधारित पशु वधस्थल स्थापना तथा सञ्चालन कार्यविधि २०७५ को मस्यौदा, पिग एण्ड पोर्क पार्क निर्माण कार्यक्रम सञ्चालन कार्यविधि २०७५ को मस्यौदा, डिप बोरिङ निर्माण तथा सञ्चालन कार्यविधि २०७५ को मस्यौदा, कृषि यान्त्रिकीकरण प्रबद्र्धन सम्बन्धी कार्यविधि २०७५ को मस्यौदा र सहकारी संघ संस्थालाई अनुदान प्रदान गर्ने कार्यविधि २०७५ को मस्यौदा स्विकृत गर्ने निर्णय मन्त्रिपरिषद गरेको छ ।