जनकपुरमा करेन्ट लागेर ज्यान गुमाएका परिवारलाई प्रदेश सरकारले आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।
प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले जनकपुरमा गत माघ ५ गते करेन्ट लागेर ज्यान गुमाएका परिवारलाई १÷१ लाख रुपैयाँ सहयोग उपलब्ध गराउने घोषणा गरेका हुन्।
करेन्ट लागेर ज्यान गुमाएका मिथिला बिहारीका परमेश्वर मण्डलका परिवारसँग बिहीवार भेटघाट गर्दै प्रदेश मन्त्री सोनलले सरकारले एक लाख आर्थिक सहयोग गर्ने बताए। धनुषा मिथिला विहारी नगरपालिका परमेश्वर मण्डल र सिरहा विष्णुपुर गाउँपालिका–४ थलहाका २६ वर्षीय जगरनाथ साहको जनकपुरधाम उपमहानगरपालिका–१२ स्थित कुवारामपुरमा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको थियो।
नर्वेमा विधावारिधि गर्दै आएका परमेश्वरको असमायिक निधनले प्रदेशलाई समेत क्षति भएको भन्दै उनले मृतककी श्रीमती र सन्तानलाई लालन पालनमा समेत सरकारले सहयोग गर्ने आश्वासन दिए। सरकारले सिरहा विष्णुपुर गाउँपालिका–४ थलहाका २६ वर्षीय जगरनाथ साहका परिवारलाई समेत सयोग उपलब्ध गराउने तयारी गरेको मन्त्री सोनलले बताए।
विद्युत प्राधिकरणबाट पाउने सहयोगको साथ साथै प्रदेश सरकारले मृतक दुवै जनाका परिवारलाई १÷१ लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको उनले बताए। मृतका घरमा मन्त्री सोनलसँगै वन, पर्यटन राज्यमन्त्री सुरेश मण्डल र प्रदेश सांसद परमेश्वर साह पुगेर पीडित परिवारलाई समवेदना प्रकट गरेका थिए।