प्रदेश २ का भौतिक पुर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले प्रदेश सरकारको अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएर संघीय सरकारले समानान्तर सरकार चलाउन खोजे आन्दोलन गर्ने चेतावनी दिएका छन् । शनिवार जनकपुरमा तेस्रो सहिद कप ब्याडमिन्टन प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले समानान्तर सरकार बनाएर केन्द्र सरकारले संघीयता समाप्त गर्ने षड्यन्त्र गरिरहेको आरोप लगाए ।
‘एकातर्फ प्रदेश सरकार बनाइन्छ अर्कोतर्फ प्रदेश सरकारको समानान्तरमा सिडियोलाई अधिकार दिएर समानान्तर सत्ता चलाउने कुरा भइरहेको छ ।’ राजपा प्रदेश २ का संसदीय दलका नेता समेत रहेका सोनलले भने, ‘प्रदेश सरकारले कुनै हालतमा यो स्वीकार गर्दैन, अरुले नगरेपनि राजपाले आन्दोलनकै घोषणा गर्छ ।’ आन्दोलनबाट प्राप्त गरेको उपलब्धिलाई उपभोग गर्दै अरु सबै मागकालागि आफुहरु संघर्षरत रहेको बताउँदै उनले जनताले ओलीतन्त्रकालागि आन्दोलन नगरेको टिप्पणी गरे ।
‘ओलीको मोनोपोलीतन्त्रकालागि आन्दोलन भएको होइन्, कुनै व्यक्तिको पागलपनकालागि सहिदले सहादत दिएका होइनन्, हामी व्यवस्थाकालागि आन्दोलन गरेका छौँ, व्यवस्था संस्थागत गर्नुस,’ उनले भने । लोकतान्त्रिक मुल्य मान्यता अनुसार आफुहरु निर्वाचनमा भाग लिएको बताउँदै उनले भने, ‘निर्वाचनमा जितेकाहरुले सर्वसत्तावाद लाद्न खोजे, मौलिक मान्यता समाप्त गर्न खोजे, संविधान भन्दा माथि जाने प्रयास गरे मधेसका जनताले बर्दास्त गर्ने स्थितीमा छैनन् ।’
मन्त्री सोनलले केन्द्र सरकारले खेल जगतलाई उपेक्षा गरेका कारण खेलकुदमा मुलुक पछि परेको उल्लेख गरे । ‘पैसा, आणविक शक्ति नभएका मुलुकहरु समेत खेलकुदको माध्यमबाट अन्तर्राष्ट्रिय जगतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन् ।’ मन्त्री सोनलले भने, ‘तर केन्द्र सरकारले खेल जगतलाई उपेक्षा गरेकाले मुलुकमा क्षमतावान खेलाडी र व्यापक सम्भावना हुँदाहुँदै उनीहरु उचाईमा पुग्न सफल भएनन् ।’
उनले संघीय सरकारले खेल तथा खेलाडीहरुको भविष्य ग्यारेन्टी गर्न नसकेपनि आधुनिक तथा पुरातन खेलकुदको विकासमा प्रदेश सरकार गम्भीर रहेको दावी गरे । मन्त्री सोनलले खेलाडीहरुलाई प्रोत्साहनकालागि प्रदेश सरकार विशेष कार्यक्रम समेत ल्याएको बताए । पुरस्कार वितरण समारोहमा विजेत खेलाडीहरुलाई नगद चेक सहित शिल्ड प्रदान गरिएको थियो ।