प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीयता सुरु भएको एक वर्षमा प्रदेशसभाले ठूलो उपलब्धि हासिल गरेको दाबी गरेका छन्।
प्रदेशसभाको प्रथम वार्षिकोत्वसलाई संसदमा सम्बोधन गर्दै मुख्यमन्त्री राउतले सत्ताधारी दल, प्रमुख प्रतिपक्षी र प्रतिपक्षी दलको प्रजातान्त्रिक शैलीलाई प्रशंसा गर्दै एक वर्षको अवधि उपलब्धिमुलक रहेको दावी गरेका हुन्।
प्रतिपक्षी दलको भूमिकाको प्रशंसा गर्दै उनले संघीयताको अभ्यासमा सहयोग, र समृद्धिको संस्कृति विकास गर्न समेत प्रतिपक्षी र प्रमुख प्रतिपक्षी दललाई आग्रह गरे। मुख्यमन्त्री राउतले भने, ‘काम गर्ने शिलशिलामा एकले अर्कालाई सहयोग नगरे विकास र समृद्धि अघि बढ्न सक्दैन, त्यसैले सत्ता र प्रतिपक्षले विकासको मिशनमा उदाहरण प्रस्तुत गर्न आग्रह गर्दछु। आगामी दिनमा प्रदेशसभामा थप आत्मियता, विश्वास र सहयोग आवश्यकता छ।’
भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनारले प्रदेशसभाबाट केही असहमति बाहेक १६ वटा विधेयक पास भएको र आगामी दिनमा समेत यस्तै सहयोगको अपेक्षा गर्दै प्रदेश समृद्धिका निमित्त सत्ता र प्रतिपक्षको सहकार्यमा जोड दिए।
नेकपाका नेता सत्यनारायण मण्डलले सभामुखप्रति रोष प्रकट गर्दै भने, ‘प्रदेशसभाले मेरो पटक पटक मान मर्दन गर्दै आएको छ, सरकारले बिभिन्न आयोगहरु गठन ग¥यो तर प्रतिपक्षीलाई एक पटक सोध्न पनि आवश्यक ठानेन, यो कस्तो संस्कार हो?’
यसैगरी, प्रदेश २ नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले भने, ‘बच्चा जन्मेपछि ६ दिनमा नाम टुङ्गिन्छ तर यहाँ एक वर्ष भईसक्यो, नाम र राजधानी तोकिएको छैन। अर्को वर्ष यही सुन्न नपरोस्।’ उनले प्रजातान्त्रिक शैलीमा प्रदेश २ को संसद सञ्चालन भएको दाबी गर्दै संघीय संसद जस्तो अमर्यादित नहोस् भन्ने कामना गरे।
सोमबारको बैठकमा भौतिक पुर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनालले ‘प्रादेशिक विद्युत सम्बन्धी विधेयक, २०७५ दफाबार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव पेश गरेका थिए।