गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्थानीय सरकारलाई आवधिक योजना निर्माण गरेर अगाडी बढ्न सुझाव दिएका छन् ।
राष्ट्रिय योजना आयोगद्वारा नेपालको दिर्घकालीन सोच सहितको पञ्चवर्षीय १५ औं योजनाको आधारपत्र (प्रारम्भिक मस्यौदा) माथि सुझाव लिने पोखरामा भएको गण्डकी प्रदेशस्तरीय परामर्श बैठकमा मुख्यमन्त्री गुरुङले हचुवाको भरमा डोजर लगाउने कार्य नगरी योजना बनाएर विकासमा लाग्न सुझाव दिएका हुन् ।
मुख्यमन्त्री गुरुङले योजना बनाएर काम गर्दा स्रोतको सुनिश्चितता र आफ्नो सामथ्र्य बारे जानकारी हुने भएकाले संघीय सरकार र प्रदेश सरकारले लिएको लक्ष्य पूरा गर्न पनि स्थानीय तहमा सही तथ्यांक र उपयुक्त योजना हुनुपर्ने बताए ।
मुख्यमन्त्री गुरुङले कसले कुन काम गर्ने भनेर स्पष्ट योजनाको वर्गीकरण गर्नुपर्ने बताउँदै तल्ला तहमा अनुदान बढाउन केन्द्र सरकार समक्ष आग्रह गरे । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा पुष्पराज कँडेलले अबको २५ वर्षमा संसारका विकसित देशहरुको दाँजोमा पुग्न मुलुकले अबको प्रष्ट मार्गचित्र निर्माण गर्नु पर्छ भनेर दिर्घकालिन सोच सहितको पन्ध्रौं योजना प्रारम्भिक खाका प्रस्तुत गर्दै जनताका नजिकका सरकार स्थानीय तहबाट सुझाव लिन बैठकको आयोजना गरिएको बताए ।
राष्ट्रिय योजना आयोगका सदस्य डा. दीलबहादुर गुरुङले बैठकका सहभागीलाई स्वागत गरेका थिए भने आयोगका सहसचिव बिजुकुमार श्रेष्ठले पन्ध्रौँ योजनाको मस्यौदा प्रस्तुत गरे । गण्डकी प्रदेशका प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गिरिधारी पौडेलले प्रदेश योजना सम्बन्धी अवधारणा पत्र प्रस्तुति गरेका थिए ।