नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् लमजुङको विवाद चरम उत्कर्षमा पुगेको छ। विवाद उत्कर्षमा पुगेपछि नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् लमजुङको अधिवेशन आयोजकविनै सम्पन्न गरिएको छ।
विगत ९ वर्षदेखि महासंघको नेतृत्वमा रहेको खेमजंग गुरूङ नेतृत्वको कार्यसमितिलाई पत्तोसमेत नदिएर केन्द्रीय प्रतिनिधिको ठाडो हस्तक्षेपमा हरिजंग तामाङलाई अध्यक्षको जिम्मेवारी दिएपछि विवाद उत्कर्षमा पुगेको हो।
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् लमजुङका अध्यक्ष खेमजंग गुरूङले आफूहरू बैधानिकरूपमै अधिवेशन गरेर नेतृत्व सुम्पन तयार गरेपनि जानकारी नदिएर अधिवेशन गरिएको कुरा फेसबुकमार्फत थाहा पाएको बताए।
उनले भने,‘थाहा नदिएर अधिवेशन गरिएको रहेछ। पछि फेसबुकमा बधाई आएपछि मात्र हामीलाई थाहा भयो। यस्तो स्वघोषित नेतृत्व हामीलाई स्वीकार्य छैन। यसबारेमा जातीय संगठनहरूबीच सल्लाह भइरहेको छ। गुरूङ समुदाय र कुमाल समुदाय लगायतका जातीय संगठनको सहभागिता र सहमतिविना भएको भेलाले स्वघोषित नेतृत्वविरूद्ध अभियानको थालनी गर्ने तयारीमा छौँ। हामी छिट्टै नै जिल्ला अधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्छौं।’
तर, हरिजंग तामाङ पक्षले भने अधिवेशन आधिकारिक नै भएको दाबी गरेको छ। अध्यक्ष घोषणा भएका तामाङले केन्द्रीय उपाध्यक्षको उपस्थितिमै अधिवेशन गरिएको बताए। अधिवेशनमा कुमाल समुदाय अनुपस्थित भएपनि गुरूङ समुदाय भने सहभागी भएका थिए। तर, अधिवेशन सहभागी भए पनि गुरूङ समुदायले माइन्युटमा भने हस्ताक्षर गरेका थिएनन्।
उनले भने,‘कुमाल समुदायको उपस्थिति भने नभएकै हो। उहाँहरू कुनै समस्याले नआएको हुनुपर्छ। दुई कार्यकाल गुरूङले नै महासंघको नेतृत्व गरेको हो यसपटक तामाङले नेतृत्व गर्दा नमान्ने हो भने हामी पनि गुरूङ नआएपनि महासंघ सञ्चालन गछौँ।’
दुई नेतृत्वबीचको विवाद जस्तो देखिएपनि नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद लमजुङमा विगत लामो समयदेखि विवाद कायम छ।