मुख्यमन्त्री लालबाबु राउतले कर्मचारी समायोजनको नाउँमा मुलुकमा अन्यौलता सृजना गर्ने प्रयास भैरहेको आरोप लगाएका छन् ।
उनले समायोजनको नाउमा संघीय सरकारले नौटङ्की गरेको टिप्पणी गरेका हुन् । डिप्लोमा इन्जिनियर्स एशोसिएन नेपाल प्रदेश नं. २ को प्रथम प्रदेश अधिवेशनको उद्घाटन सत्रलाई जनकपुरमा सम्बोधन गर्दै उनले भने, ‘कर्मचारी समायोजन गर्दा पहिले स्थानीय तहमा पदपुर्ती गर्नु पथ्र्यो, दोस्रो प्रदेशमा आवश्यक कर्मचारी समायोजन गरिसकेपछि मात्रै संघमा समायोजन गर्नुपथ्र्यो ।’ हिजो संघीयता मन नपराउनेहरु अहिले सत्तामा रहेकाले मुलुकमा संघीयता कार्यन्वयनकालागि म्याकानिज्म तयार हुन नसकेको उनको भनाइ छ ।
मुख्यमन्त्री राउतले प्रदेश २ मा आउने कर्मचारीलाई संघीय सरकारले दोस्रो दर्जाको कर्मचारीको रुपमा भेदभाव गर्ने गरेको उल्लेख गर्दै यस्ता रबैया दुर्भाग्यपुर्ण रहेको बताए । ‘सरकारले पेलेर जाने हिसाबले कर्मचारी समायोजन अध्यादेश ल्यायो, यो मुलुकलाई निकास दिने होइन द्धन्दमा फसाउने, बर्बाद गर्ने, अन्यौलता कायम गर्ने कदम हो’, उनले भने ।
संघीय सरकारको कर्मचारी समायोजन प्रक्रियाले मुलुकमा द्वन्द सृजना गर्ने खतरा रहेको बताउँदै उनले सरकारले मुलुकमा निकास निकाल्नुको साटो द्धन्दतर्फ धकेल्ने प्रयास गरेको आरोप लगाए । प्रदेश र स्थानीय तहमा जान चाहने कर्मचारीहरुलाई दोस्रो दर्जा सरह व्यवहार हुनु मुलुकको हित विपरित रहेको उनको भनाइ छ ।
मुलुकको विकास निर्माणमा डिप्लोमा इन्जिनियरहरुको ठूलो भूमिका रहेको उल्लेख गर्दै उनले विकास निर्माणकालागि इमान्दारितापूर्वक काममा लाग्न आग्रह गरे ।