प्रदेश २ मा कामकाजी भाषा र नामाकरण विवाद चलिरहँदा वक्ताहरु भाषाबारे समान देखिएका छन् । तर, नामाकरण बारे अहिले पनि विभाजित नै देखिएका छन् । प्रदेश सरकार गठन भएको एक वर्ष नाघिसक्दा समेत भाषा, नामाकरण र स्थायी राजधानीबारे टुङ्खो लाग्न नसकेको प्रदेश २ मा वक्ताहरु कामकाजी भाषा मैथिली हुनुपर्नेमा करिब एकमत नै देखिएपनि नामाकरणबारे विभाजित भएका हुन् ।
मैथिली विकास कोष जनकपुरले आयोजना गरेको जनकपुर साहित्य–कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव अन्तर्गत सोमबार भाषा र नामाकरण बारेमा भएको विमर्शमा सत्तापक्षका सांसद तथा वक्ताहरु प्रदेशको नाम मधेस हुनुपर्नेमा जोड दिए भने विपक्षी दलका सांसद तथा वक्ताहरु मिथिला प्रदेश हुनुपर्नेमा अडान लिए ।
प्रदेश २ का मुख्यन्यायधिवक्ता दिपेन्द्र झाले भाषाको सन्दर्भमा विवाद नरहेको भन्दै बहुसंख्यक व्यक्तिले बोल्ने भाषा नै प्रदेशको कामकाजी भाषा हुने बताए । ‘प्रदेशको भाषा मैथिली सम्पर्क भाषा हिन्दी, आर्थिक उन्नतीको लागि अंग्रेजी र राष्ट्रीय भाषा नेपाली उपयुक्त हुन्छ’, मुख्यन्यायधिवक्ता झाले भने । मधेश नाम र पहिचानकालागि सयौँ मधेशी जनताले सहादत दिएको भन्दै उनले प्रदेश २ को नाम मधेश प्रदेश राख्नु पर्नेमा जोड दिए ।
प्रदेश २ काँग्रेस संसदीय दलका नेता राम सरोज यादवले प्रदेश २ को भाषा मैथिली हुनु पर्नेमा जोड दिँदै भाषाको अधारमा प्रदेशको नामाकरण हुनु पर्ने बताए । ‘नामाकरण सदनमा दुई तीहाइले पास हन्छ । नामाकरणको लागि विवाद गर्नु र सुझाव संकलन गर्नुको कुनै औचित्य छैन्’, उनले भने ।
नेकपा सांसद राम चन्द्र मण्डलले प्रदेशको भाषा मैथिली हुनु पर्नेमा कसैको विमति नरहेको भन्दै नामाकरण मिथिला भोजपुरा हुनु पर्ने बताए । सांसद मण्डलले सरकारले मधेशलाई ८ जिल्लामा मात्र सिमित गरेको आरोप लगाउँदै प्रदेशमा सम्पर्क भाषाको रुपमा नेपाली हुँदा पनि हिन्दी ल्याउन खोजेको भन्दै आपत्ति जनाए ।
प्रदेश सभा सांसद तथा (राजपा) सचेतक परमेश्वर साहले संवैधानिक व्यवस्था अनुसार प्रदेश २ को भाषा मैथिली हुनुपर्ने बताए । सांसद साहले भने ‘बहुसंख्यक बोलिने भाषालाई नै कामकाजी भाषा बनाउन सकिने संविधानमा नै उल्लेख छ ।’ मधेश प्रदेश नामाकरणको विषयमा विभाजित हुने सांसद प्रति आपत्ती जनाउँदै सांसद साहले भने ‘मधेशको भुगोलमा बस्न स्वीकार्य हुन्छ तर मधेश प्रदेश स्वीकार्य हुँदैन । यो मानसीकता परिर्वतन गर्नु पर्छ ।’
यस्तै प्रदेश सभा सांसद रामअशिष यादवले प्रदेश २ मा मैथिली भाषालाई सबैले सहजै स्वीकार्य गर्नु पर्ने बताए । प्रदेशको नामाकरण संवैधानिक व्यवस्था अनुसार हुने भन्दै नामाकरणको विषयमा शिर्ष नेताहरुसंग विमर्ष हुनु आवश्यक रहेको बताए ।
प्रदेश सभा सांसद सत्रुधन महतोले भाषाको विषयमा विवाद नरहेको बताउँदै नामाकरणको विषयमा कुनै व्यक्ति विषेशको नाम स्वीकार्य नहुने चेतावनी दिए । उनले जनताको भावना अनुसार प्रदेश नामाकरण हुनुपर्ने उल्लेख गरे । सरकार छलफलकालागि नामाकरण र भाषाकालागि सदमा प्रस्ताव ल्याउन डराएको सांसद महतोको भनाइ छ ।