२०७२ भदौ १५ । मधेश आन्दोलन उत्कर्षमा पुगिरहेको थियो । त्यसदिन वीरगञ्जको रामराजा पुलनजिक गोली चल्यो । आन्दोलनमा भाग लिएका उपेन्द्र यादवको देब्रे खुट्टा भाँचियो। वीरगञ्जका चर्चित युवा प्रदीप यादबका भतिजा हुन् उपेन्द्र । उनै प्रदीप गत निर्वाचनमा संघीय समाजबादी फोरमको टिकटमा पर्सा १ बाट संघीय संसदमा बिजयी पनि भए ।
मधेश आन्दोलनका बेला सबै घाइतेको निःशुल्क उपचार गराउने जिम्मा आफूले लिने प्रदीपले प्रतिबद्धता जनाएका थिए। तर आफ्नै भतिजाको उपचारमा समेत कुनै चासो देखाएनन्। बीर अस्पतालको ट्रमा सेन्टर र भारतको एम्स अस्पतालमा उपचार गराउँदा १२ लाख खर्च भएको र उपचारका लागि आफ्नो ४ कठ्ठा जमीन बेच्नु परेको उपेन्द्रले बताएका छन् ।
प्रदेश सरकार गठन भएपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र संघीय समाजबादी फोरमका सांसद बिमलप्रसाद श्रीवास्तबले घाइते यादबलाई राहतस्वरुप १ लाखको चेक हस्तान्तरण गर्न लागेका थिए। तर प्रदीपले घाइते भतिजलाई फोन गरेर प्रदेश सरकारले अन्य घाइतेलाई ३ लाख दिएको छ तिमीलाई किन १ लाखमात्र भनेर पैसा नलिन दबाब दिएपछि सो चेक नबुझेको उनले बताए।
त्यसपछि उपचार खर्चका लागि बारम्बार फोन गर्दा पनि प्रदीपले उपचार खर्च जुटाइदिनु त कता हो कता फोनसमेत उठाउन छाडेको उपेन्द्रको आरोप छ । २०६२÷०६३ को जनआन्दोलनका घाइते नागा पासबान र उपेन्द्रले वीरगञ्जमा पत्रकार सम्मेलन गरी आफ्नो पीडा पोखेका थिए। उपेन्द्रले प्रदीप यादबले उपचारमा सहयोग गर्ने बताए पनि आफूले केही नपाएको पत्रकार सम्मेलनमा बताएका थिए। उनको भनाइमा प्रदीप यादब त्यसैबेलादेखि उपेन्द्रप्रति नकारात्मक भएका हुन्। अहिले प्रदीप यसो भनेर पन्छिने गर्छन् ‘पत्रकार सम्मेलन ग¥यौं, अब पत्रकारसंग राहत माग्न जाऊ ।’ त्यसपछि प्रदेश सरकारले राहतस्वरुप नागालाई ३ लाखको चेक हस्तान्तरण गरेको थियो। तर प्रदीपले अझै राहत पाएका छ्रैनन्।
उपेन्द्रलाई राहतस्वरुप रकम दिलाईदिन पूर्ब माओवादीका स्थानीय नेता रहबर अन्सारीले प्रयास गरेका थिए। त्यसका लागि उनले बिल भर्पाइ जम्मा गरी ल्याएमा सरकारबाट सहयोग गराउने बताएका थिए। तर उपेन्द्रलाई उपचारका लागि राहत दिने भनेर प्रदीप यादबले संपूर्ण बिल उपेन्द्रसंग लिएर गएका थिए। सहयोग नगरे पनि पुरानो बिल भर्पाइ पाउँ भनेर पटक–पटक फोन गर्दा पनि प्रदीपले बिल हराएको बहाना बनाएको उपेन्द्रको आरोप छ ।
सांसद यादवले भने बिल भर्पाइ आफूले नलिएको उल्लेख गर्दै सबै पार्टी महासचिव रामसहाय यादवको जिम्मामा रहेको र उनैले गृह मन्त्रालयमा बुझाईसकेको स्पष्ट पारे । उनले उपेन्द्रलाई आफूले एक लाख रुपियाँ नलिन भनेर नभनेको पनि बताए ।
उपेन्द्रको खुट्टामा फलामको रड राखिएको छ। अहिले त्यही रड निकाल्न पनि उनलाई १ लाखभन्दा बढी खर्च लाग्छ। जसको जोहो गर्न सक्ने अबस्थामा उनी छैनन्। रड निकाल्न नसक्दा उनलाई हिँडडुल गर्न पनि समस्या छ। अहिले उनलाई आफ्ना दुई छोरा र दुई छोरी हुर्काउने र पढाउने चिन्ता छ। स्थानीय सामाजिक अभियन्ता प्रकाश थारुको पहलमा उनका छोराछोरी बीरगञ्ज एकेडेमी, ग्रेस स्कुल र साउथ जोन स्कुलमा पढिरहेका छन्।