कपिलवस्तुको शिवराज नगरपालिका–९ तुरुन्तपुरमा प्रहरीले गोली चलाउँदा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीका एक जना कार्यकर्ता घाइते भएका छन्।
घरमा खानतलासी गर्ने क्रममा भागेपछि बिहीबार प्रहरीले नियन्त्रणमा लिन गोली चलाउँदा गोली लागेर विप्लवका कार्यकर्ता दुर्गाबहादुर रोका घाइते भएका हुन्। उनको खुट्टामा गोली लागेको र लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको छ।
रोकाको घरबाट प्रहरीले दुईवटा सर्ट मेशिन गन एसएमजी, चाइनिज पेस्तोल एक थान, २ सय राउण्ड गोली र बम बनाउने विस्फोटक पदार्थ बरामद गरेको प्रहरी उपरीक्षक अच्युत्तम प्रसाद पुडासैनीले जानकारी दिए।
यसैबीच, प्रहरीले भगवानपुरमा यादव चन्दको घरमा छापा मार्दा तनाव सिर्जना भएको थियो। नेपाल राष्ट्रिय आधारभूत विद्यालयका प्राध्यानाध्यापकसमेत रहेका चन्दको घरमा छापा मार्दा विद्यार्थी र स्थानीयवासीले प्रहरीलाई अवरोध गरेका थिए। स्थानीयको अवरोधका कारण प्रहरीले चन्दको घरमा भने छापा मार्न सकेन।
चन्दले प्रहरीले विना पूर्जी छापा मार्न खोजेकाले विवाद भएको बताए। स्थानीयले पक्राउ परेका रोका निर्दोष रहेको र प्रहरीले त्यसै फसाउने काम गरेको भन्दै रिहाइको माग गर्दै प्रदर्शन समेत गरेका थिए।