सरकारले लागू गर्न खोजेको सामाजिक सुरक्षा योजना रुपन्देहीमा कार्यान्वयन हुन नसक्ने उद्योगीहरुले बताएका छन् ।
उनीहरुले राज्यले रुग्न बनेको उद्योगको जिम्मामा कोष जम्मा गर्ने काम छाडेर श्रमिकहरुको जिम्मेवारीबाट राज्य उम्कन खोजेको आरोप समेत लगाए । रुपन्देही उद्योग संघले सोमवार बुटवलमा गरेको अन्तरक्रियामा बोल्ने उद्योगीहरुले राज्यले स्पष्ट उद्योग नीति नबनाउंदै सामाजिक सुरक्षा योजना लागू गर्न खोज्नु गलत भएको बताए ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै संघीय सरकारका श्रम तथा रोजगार मन्त्री गोकर्ण बिष्टले सरकारले लागू गर्न खोजेको सामाजिक सुरक्षा योजनाले श्रमीक र रोजगारदातकाबीच रहेको दूरी कम हुने दाबी गरे।
उनले युवाहरु बिदेश पलायन हुने क्रमलाई पनि सरकारको योजनाले रोक्न खोजेको भन्दै सुरक्षा योजनाले रोजगारदाताहरुलाई जनशक्तिको समेत अभाव नहुने बताए । मन्त्री विष्टले चुनौतीको समना गर्दै सामाजिक सुरक्षा योजना लागू गरेरै छाड्ने दावी गरे।
कार्यक्रममा सहभागि उद्योगिहरुले भने सरकारले लागु गर्न खोजेको योगदानमा आधारित सामाजिक सुरक्षा योजनाले उद्योगीहरुको समस्या बढाउने भन्दै चिन्ता ब्यक्त गरेका थिए । रुपन्देहीका उद्योगी बिष्णु श्रेष्ठले रोजगारदाताको समस्या नबुझी योजना ल्याईकाले कार्यान्वयन हुन नसक्ने बताए ।
रुपन्देही उद्योग संघका निवर्तमान अध्यक्ष दिनेशराज रेग्मीले सरकारी योजना राम्रो भएपनि उद्योगहरुले धान्न नसक्ने बताए । सरकारले श्रमिकरुको अधिकार सुनिश्चितता गर्ने भन्दै यसै वर्ष देखि योगदानमा आधारीत सामाजिक सुरक्षा योजना सार्वजानीक गरेको थियो ।