बोइङको ७३७ म्याक्स विमान अब विश्वभर नै नउड्ने भएको छ । इथोपियामा आइतबार भएको विमान दुर्घटनास्थलको अनुसन्धानपछि निर्माता कम्पनी बोइङले विश्वभर उडानमा रहेका म्याक्स विमान सेवाबाट फिर्ता हुने जनाएको हो ।
इथोपियामा १५७ जनाको ज्यान जाने गरी भएको दुर्घटनापछि थुप्रै देशले यो विमानको उडानमा प्रतिबन्ध लगाएका थिए । यसअघि अमेरिकी अधिकारीहरुले भने विमान सुरक्षित भएको दाबी गरेका थिए ।
बोइङले विश्वभरका रहेका ७३७ म्याक्स मोडलका ३ सय ७१ विमानको उडान रद्द गर्ने जानकारी दिएको हो । अमेरिकी संघीय उड्डयन विभाग (एफएए) का अनुसार नयाँ प्रमाणका अलावा भूउपग्रहबाट प्राप्त नयाँ डाटाका आधारमा यो निर्णय लिइएको हो ।
एफएएका डेन एलवेले केही महिनाअघि भएको इण्डोेशियाको लायन एयरको दुर्घटनाजस्तै इथोपियन एयरलाइन्सको विमान दुर्घटना भएको कुरालाई सबैले स्वीकारेको बताए ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै बोइङ ७३७ म्याक्स विमानको उडानमा रोक लगाउने घोषणा बुधबार गरेका थिए ।
बोइङ ७३७ म्याक्स विमान उक्त कम्पनीको सबैभन्दा नयाँ मोडलको मानिन्छ । यसको व्यवसायिक उडान २०१७ बाट सुरु गरिएको थियो । यसलाई सबैभन्दा बढी सुरक्षित मानिएको थियो ।