सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको बन्दका कारण आज देशका विभिन्न क्षेत्रमा आंशिक प्रभाव परेको छ । काठमाडौँ उपत्यकाबाहेक बाहिरका जिल्लामा सवारी सञ्चालनमा कमी आए पनि उपत्यकामा भने सवारीसाधन निर्वाधरुपमा चलिरहेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए ।
उनका अनुसार नवलपरासी र मकवानपुरमा ट्रकमा तोडफोड भएको छ । नवलपरासी, रौतहट, सिन्धुपाल्चोक र कास्कीमा शङ्कास्पद वस्तु फेला परे पनि अप्रिय घटना भएको छैन ।
महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख शैलेश थापा क्षेत्रीले उपत्यकाको तीनै जिल्लामा अहिलेसम्म शान्ति सुरक्षामा कुनै असर नपरेको बताए। काठमाडौँ प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीका अनुसार काठमाडौँको सवारीसाधन आवागनमा कुनै समस्या नरहेको तर त्रासका कारण स्कूल, क्याम्पस भने प्रभावित भएकाे बताए ।