मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा व्यवसायिक रुपमा पालिएका कुखुरामा बर्ड फ्लु देखिएको छ ।
हेटौँडा उपमहानगरपालिका वडा नं ७ केहीदिनअघि हजारौ कुखुरा मरेको घटना सार्बजनिक भएको थियो । तर त्यसबेला व्यवसायीहरुले रानी खेत, गम्बारो, सीआरडी लगायत रोग देखा परेको भन्दै व्यवसायीले मिडियामार्फत जबाफ दिएका थिए ।
तर जिल्ला पशु सेवा कार्यालय मकवानपुर पशु सेवा विभागले संकलन गरेको मरेको कुखुराको ल्याब परिक्षणबाट बर्ड फ्लु पुष्टि भएको हो । हेटौँडा ७ का कुखुरापालक किसान कुलप्रसाद चौलागाईले पालेको लेयर्स जातको कुखुरामा बर्ड फ्लु फेला परेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मकवानपुरका प्रमुख चेतनारायण खरेलले स्पेसखबरलाई बताए ।
बर्ड फ्लुको पुष्टि भएपछि मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा बिहीबार साँझ सरोकारवालाको बैठक बसेको छ । बैठकले बर्ड फ्लु भेटिएको क्षेत्रबाट चार किल्ला तोकी पंक्षीजन्य ओसारपसार, उपभोग तथा उत्पादनमा रोक लगाउने निर्णय गरेको छ ।
बिहीबार साँझै चारकिल्लाभित्र रहेका कुखुराका खोरमा रहेका कुखुराको गणना गरिँदैछ । ती कुखुराहरुको व्यवस्थापन के कसरी गर्ने भन्नेबारेमा शुक्रबार अर्काे बैठक बसी निर्णयमा पुगिने पशुसेवा विज्ञ केन्द्र मकवानपुरका प्रमुख खरेलले जानकारी दिए ।