पहिले-पहिले जस्तो आजभोलि बजारमा माटोका भाँडाहरु पाइँदैनन्। माटोका भाँडाका साटो अहिले प्लाष्टिकका सामानहरु बजारमा प्रशस्तै पाइन्छ। थरिथरिका प्लाष्टिकका सामान सस्तो मूल्यमै पाउन थालेपछि माटोका भाँडाहरु बनाएर बेच्दै आएका कुमाल समुदायको पुर्ख्याैली पेशा नै संकटमा परेको छ।
गमला, खुत्रुके, घैटो, हाँडीका साथै दियोजस्ता सामाग्री बनाउने कुमाले जातिको पेशा बजारमा भित्रिएका विभिन्न खाले प्लाष्टिकका सामाग्रीका कारण माटोका भाँडो बिक्रि हुनै छाडेको छ।
भक्तपुरवाट आएका प्रेमकृष्ण प्रजापति अहिले लमजुङको सुन्दरबजार नगरपालिका-६ स्थित पाथीले बारेको सानो झुपडीमा खुत्रुके, हाँडी र गमला बनाउने काममा व्यस्त देखिन्छन्। उनी कुमाल नभए पनि कुमाल समुदायमा हुर्केकाले यो पेशा अंगाल्दै आएका छन्।
प्रेमकृष्ण माटोबाट भाँडो बनाउने मध्ये नयाँ पुस्ताले पुरानो परम्परा धान्दै आएका एक युवा हुन्। हुनत कुमाल समुदायका युवा पुस्ता आजको अवस्थामा पुर्ख्याैली पेशा सम्हाल्न उद्यत देखिँदैनन्। युवाहरुको लगाव र रुची नहुँदा बुढापाखाले धान्दै आएको पेशा थप संकटमा पर्दै गएको छ।
प्रेमकृष्ण भन्छन्,‘म यो पेशामा लागेको करिब १६ वर्ष भयो, पहिला माटोका भाँडाकुडा बनाउन भ्याइ-नभ्याई हुन्थ्यो अहिले भने बनाइसकेका भाँडाकुडा पनि बिक्रि हुँदैन कि भन्ने चिन्ता बढेको छ। न त माटोका भाँडा बनाउन राम्रो माटो नै पाइन्छ।’
हातले कुँदिएका कलात्मक माटोका भाँडाहरुको केही वर्षअघिसम्म बजारमा राम्रै माग हुने गथ्र्याे। आजभोलि भने बजारमा भित्रिएका प्लाष्टिकका साथै अन्य भाँडाकुँडाका कारण माटोका भाँडाकुँडाको माग घटेको श्याम प्रजापतिले बताए।
स्थानीय सरकारले कुमाल समुदायको परम्परागत पेशा संरक्षणका लागि आधुनिक कार्यक्रम ल्याउन सकेको अवस्थामा फेरि त्यस्ता पेशा व्यवसाय संरक्षण हुने विज्ञहरुको भनाइ छ।