बालिकामाथि हुने हिंसाबाट बच्न यहाँका विद्यालयमा आत्मरक्षा (सेल्फ डिफ्यान्स) सम्बन्धी प्रशिक्षण शुरु गरिएको छ।
बालिकालाई विद्यालयमै पुगेर सैद्धान्तिक र प्रयोगात्मक अभ्याससहित हिंसाबाट जोगिने उपायका बारेमा प्रशिक्षण प्रदान गर्न थालिएको हो।
यस्तो प्रशिक्षण लिएका बालिकाले आफ्ना साथीलाई हिंसाबाट कसरी बच्ने भन्ने विषयमा समेत प्रशिक्षण दिने गरेका छन्। नेपाल राष्ट्रिय माध्यमिक विद्यालय करैखोलाका छात्रा निश्चल कोइरालाले एक्लो अवस्था वा बाटोमा हिँड्दा आफूहरुमाथि हुने हिंसा रोक्न तालीमले सहयोग पुग्ने बताए।
उनले भने ‘महिला हिंसाबारे चेतना जगाउने र कोही आइलागेको खण्डमा प्रतिकार गर्न सक्नेको क्षमताको विकास गर्ने उद्देश्यले सञ्चालित प्रशिक्षणबाट हिंसामा संलग्नबाट आफू कसरी उम्किन सकिन्छ? र आफ्नो अङ्गको सुरक्षाका लागि के गर्न सकिन्छ? भन्नेबारे ज्ञान दिने गरिएको छ।’
ग्लोबल एक्सनका सामाजिक परिचालक मीना विश्वकर्माले आत्मरक्षामा बालिकामाथि बाहिरबाट हुने आक्रमणका विषयमा प्रशिक्षित गराइएको बताइन्। शारीरिक प्रतिरक्षाका साथै महिला हिंसाका कारण, कानूनी उपचार र अन्यायमा परेमा न्यायका लागि लड्ने विषयमा समेत परामर्श दिइएको उनले जानकारी दिए। रासस