प्रहरीले काठमाडौँको नागढुङ्गाबाट आज लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले यहाँस्थित सडकमा जाँच गर्ने क्रममा लागुऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । रौतहटको गौरबाट काठमाडौँ आउँदै गरेको ना५ख ३०२० नम्बरको यात्रुवाहक बसमा सवार काठमाडौँ महानगरपालिका–१६ मनमैजुका परिमोल तामाङ र सुशील श्रेष्ठ तथा रौतहटका कोमल मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुका साथबाट अवैध लागुऔषध डाइजेपाम, फेनारगन र नुरफ्रिन गरी ९९ एम्पुल बरामद् गरिएको महानगरीय प्रहरी कार्यालय काठमाडौँले जनाएको छ ।
आजै वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बा५ख ६०९५ नंको यात्रुवाहक बसमा जाँच गर्ने क्रममा बसमा सवार काठमाडौँ साँखु लप्सीफेदीका शम्भु स्याङ्बोलाई पनि सोही ठाउँबाट लागुऔषधसहित पक्राउ गरेको कार्यालयले जनाएको छ । उनको साथबाट लागुऔषध नाइट्राभेट ११५ थान र डाइजेपाम, फेनारगन र नुरफ्रिन ९८ एम्पुल बरामद् गरी गरिएको छ । पक्राउ परेकाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।