अल्टिमेटम दिएको समयमा पनि नवीकरण नगर्ने पोखराका २६ प्याराग्लाइडिङ कम्पनीको उडान आज (आइतबार)देखि बन्द हुँदै छ। पोखरा महानगरपालिका राजस्व परामर्श समितिको शनिबारको बैठकले नवीकरण नगर्ने प्याराग्लाइडिङलाई उड्न नदिने निर्णय गरेको हो। मेयर मानबहादुर जिसीका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले नवीकरण नगर्ने २६ कम्पनीलाई आइतबारबाट उडान भर्न नदिने निर्णय भएको बताए।
महानगरपालिकाको पटक–पटकको सुचना र पत्राचारपछि एक साताभित्र नविकरण गर्ने प्रतिबद्धता जनाए पनि व्यवसायीले आफ्नै प्रतिबद्धता लत्याउँदा उडान नै बन्द हुने अवस्था निम्तिएको हो। पोखराको आकाशमा उडान भर्ने ५६ मध्ये ३० कम्पनीले भने नविकरण गरिसकेका छन्। आइतबारपछि आउने कम्पनीलाई थप जरिवाना लिएरमात्रै नविकरण गर्ने निर्णय बैठकले गरेको छ।
पोखरका सबै प्याराग्लाडिङ कम्पनीले चार वर्षदेखि कम्पनी नविकरण नगरि उडान भर्दै आएका थिए। दुई साताअघि लगातार प्याराग्लाडिङ दुर्घटनामा पर्यटकले ज्यान गुमाएपछि महानगरले ती कम्पनीको आधिकारिकता बुझ्दा उनीहरूले सरकारी निकायको सूचनालाई बेवास्ता गर्दै विना नविकरण उडान भरिरहेको खुलेको थियो।
त्यसपछि महानागरले नविकरण नगर्ने कम्पनीलाई २२ फागुनदेखि उडान बन्द गर्ने चेतावनी दिएको थियो। महानगरको निर्णयसँगै २१ फागुनमा नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष योगेश भट्टराईसँगै कम्पनीका संचालकहरूले नविकरणका लागि एक साता समय मागेका थिए। सोहीअनुसार महानगरले एक साताको समय थिएको थियो। तर उनीहरूले मागेको समयमा पनि जम्मा ३० कम्पनी नविकरण गर्न आएको पोखरा महानगरका मेयरका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले बताए।
महानगरले चैत्रभित्र नविकरण गर्नेलाई थप ५ हजार जरिवाना तोकेको छ। यस्तै, वैशाखमा आउनेलाई १० र त्यसपछि असारसम्म आउनेलाई १५ हजार जरिवाना लिने निर्णय बैठकले गरेको पोखरा महानगरपालिका राजश्व शाखाका कर अधिकृत छवि शर्माले बताए। असारसम्म पनि नविकरण गर्न नआउने कम्पनीको नविकरण नै नगर्ने र पोखरा क्षेत्रमा उडान भर्न नदिने निर्णय भएको उनले बताए। नयाँ पत्रिकामा खबर छ।