पूर्व-पश्चिम महेन्द्र राजमार्गको नारायणगढ-बुटवल सडक खण्ड अन्तर्गत नवलपरासीको कावासोतीस्थित खरकट्टा जङ्गलमा आज बिहान दुईवटा ट्रक एक आपसमा ठोक्किंदा एक जनाको मृत्यु भएको छ। अरु दुई जना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा दाङ का १८ वर्षीय अनराम रखाल रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वले जनाएको छ।
त्यस्तै, दुर्घटनामा दाङकै ३० वर्षीय सुदिप राई र २३ वर्षीय विनोद लामा गम्भीर घाइते भएका छन्। घाइते दुबैको अहिले पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। कावासोती नजिकै खरकट्टा जङ्गलमा बिग्रिएर रोकिराखेको ना ७ ख १०९९ नम्बरको ट्रकमा पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको ना ६ ख ११९४ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिंदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ।