गतसाता भएको इथियोपियन एयरलाइन्सको विमान दुर्घटनामा परी निधन भएका १५७ जनाका परिवारलाई अन्तिम संस्कारका लागि दुर्घटना स्थलको एक किलो माटो र खरानी दिने प्रस्ताव गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
सो एयरलाइन्सले जलेर बाँकी रहेका मृतकका शरीरका भागको पहिचान गर्न समय लाग्ने भन्दै अन्तिम संस्कारका लागि दुर्घटनास्थलको माटो र खरानी दिने प्रस्ताव गरेको जनाइएको छ। मृतकका शरीरका अंगको पहिचान गर्न कम्तिमा ६ महिनासम्म लाग्ने एयरलाइन्सले जनाएको छ। दुर्घटनाको कारणबारे एयरलाइन्सले अनुसन्धान गरिरहेको बताइएको छ।
केन्याको नैरोबीका लागि एडिस अबाबाबाट उडेको बोइङ ७३७ म्याक्स एच विमान केही मिनेटमै दुर्घटनाग्रस्त भएको थियो। सो दुर्घटनामा ३५ देशका नागरिकको ज्यान गएको छ। ज्यान गुमाउनेमा बिश्व खाद्य कार्यक्रममा कार्यरत एक नेपाली महिला पनि छन्।