मकवानपुर प्रहरीले विभिन्न स्थानहरुबाट ठूलो परिमाणको लागू औषध गाँजा, भरुवा बन्दुक र ओसारपसारमा प्रयोग गरिएको कारसहित चार जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार राक्सिराङ गाउँपालिका–७ स्थित तीनवटा घर खानतलासी तथा हेटौँडाको रातोमाटेस्थित चेकपोष्टमा जाँच गर्ने क्रममा लागूऔषध गाँजा, भरुवा बन्दुक र कारसहित चार जनालाई पक्राउ गरिएको हो।
चैत २ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले राक्सिराङ गाउँपालिका–७ का बलराम भनिने चन्द्रबहादुर चेपाङको घरबाट एउटा भरुवा बन्दुकसहित ६१.५ किलो गाँजा बरामद गरेको हो।
त्यसैगरी सोही वडाकै दिपसन भन्ने सर्गलाल प्रजाको दुईवटा घरमा खानतलासी गर्दा ७८.५ किलो गाँजा, दुईवटा भरुवा बन्दुक, १०० ग्राम बारुद, ब्याट्री तथा स–साना ढुंगाका टुक्राहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सर्गलाल र चन्द्रबहादुरलाई समेत घरैबाट पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
यता, पूर्वपश्चिम राजमार्गको रातोमाटेमा सबारी जाँच गर्ने क्रममा डब्लुबी ०६–६३०९ नम्बरको कारबाट ४५ किलोग्रामा गाँजा बरामद भएको छ। गाँजासहित भारतीय नागरिक ३० वर्षीय विष्णुकुमार साह र ३८ वर्षीया रेणु देवी पक्राउ परेका छन्। उनीहरुले कारबो डिकीमा फल्स बटम बनाएर ३० वटा पोकामा प्याक गरी ४५ किलोग्राम लागूऔषध भारतर्फ लैजान खोजेका थिए।
लागू औषध लागू औषध कारोबारतर्फ लागूऔषध नियन्त्रण २०३३ बमोजिम २ वर्षदेखि १० वर्षसम्म कैद सजायँ र १५ हजारदेखि एक लाखसम्म जरिवाना हुने प्रावधान रहेको छ। मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद ६ बमोजिम अबैध हातहतियार राख्ने र उपयोग गर्नेहरुका लागि हातहतियार तथा खरखजना कसुरमा ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ। प्रहरीले पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको जनाएको छ।