निजी क्षेत्रका दुईवटा मेडिकल कलेज संचालनमा रहेको रुपन्देहीमा अर्को सरकारी मेडिकल कलेज थपिएको छ।
भैरहवामा युनिर्भसल मेडिकल कलेज तथा देवदहमा देवदह मेडिकल कलेज रहेको रुपन्देहीको तिलोत्तमामा सरकारी मेडिकल कलेज बन्ने प्रक्रिया शुरु भएको छ। तिलोत्तमामा प्रस्तावित सरकारी मेडिकल कलेजको आयोजना कार्यालय स्थापना भैसकेको छ।
बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाको कार्यालय स्थापना भई प्रक्रिया अघि बढेको हो। सो कार्यालयमा आयोजना प्रमुखसहित एकजना उपसचिव, शाखा अधिकृत, इन्जिनियर, लेखा अधिकृत, चालक र कार्यालय सहयोगीसहित सातजना कर्मचारीको दरबन्दी रहेको उपसचिव मानबहादुर घिमिरेले बताए। मेडिकल कलेज आयोजना कार्यालयको उद्घाटन प्रधानमन्त्री केपी ओलीले आउँदो शुक्रबार गर्ने गरी तयारी अघि बढाइएको घिमिरेले जानकारी दिए।
स्वास्थ्य क्षेत्रको जनशक्ति प्रदेशमै उत्पादन गर्ने उद्देश्यले सरकारले सातवटै प्रदेशमा एक–एक वटा सरकारी मेडिकल कलेज स्थापना गर्ने घोषणा अनुरुप रुपन्देहीमा काम थालिएको हो। गत फागुन ३ गतेको मन्त्रिपरिषद बैठकले प्रदेश ५ को रुपन्देहीको तिलोत्तमा, प्रदेश २ को महोत्तरीको बर्दिबास र कर्णाली प्रदेशको सुर्खेतमा सरकारी मेडिकल कलेज स्थापनाका लागि पूर्वाधार निर्माण विकास आयोजना स्वीकृत गरेको थियो।
तिलोत्तमा नगरपालिकाको वडा नम्बर १ र ८ मा पर्ने शंकरनगर सामुदायिक वन र करहिया सामुदायिक वनको दुई सय बिघा जग्गा मेडिकल कलेज बनाउन दिने निर्णय यसअघि नै भइसकेको छ। निजी अस्पताल धेरै भए पनि महंगा र विशेषज्ञ सुविधा पर्याप्त नहुँदा रुपन्देहीवासीलाई उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता अझै पनि छ।
अहिले रुपन्देहीको भैरहवामा युनिभर्सल मेडिकल कलेज र देवदहमा देवदह मेडिकल कलेज गरी दुईवटा निजी क्षेत्रका मेडिकल कलेज सञ्चालनमा छन् भने बुटवलमा लुम्बिनी प्रादेशिक अस्पताल छ। रुपन्देहीमा अहिले ५ नम्बर प्रदेशका १२ जिल्लासहित प्रदेश ४ का स्याङजा, बागलुङ तथा सीमावर्ती भारतीय शहरबाट समेत विरामीहरु उपचार गर्न आउँछन्।