कास्कीको मादी गाउँपालिका बर्डफ्लु देखिएको छ। मादी गाउँपालिका ३ याङ्जाकोटकी सन्तुदेवी परियारले पालेका कुखुरामा बर्डफ्लु भाइरस देखिएको बर्डफ्लु रोग नियन्त्रण कक्षा सञ्चार अधिकृत गृष्म नेउपानेले जानकारी दिए।
खोरमा रहेका कुखुरा मर्न थालेपछि परीक्षणका लागि उनले पोखरा ल्याएकी थिइन् । पोखरामा ल्याब परीक्षणमा बर्डफ्लु देखिएपछि थप परीक्षणका लागि काठमाडौं लगिएको थियो।
काठमाडौंको परीक्षणबाट समेत पोजेटिभ देखिएपछि परियारले पालेका अन्य कुखुरा पनि मारिएको नेउपानेले जानकारी दिए। उनले ७७ वटा लोकल कुखुरा, ८५ वटा अण्डा, ३५ केजी दाना र १० केजी सुली सोमबार नस्ट गरेको बताए।
बर्डफ्लु प्रमाणित भएपछि कार्यालयले त्यस क्षेत्रका कुखुरा मार्न थालेको छ। बर्डफ्लु लागेको क्षेत्रमा ४ किल्ला लगाएर बर्डफ्लु संक्रमित कुखुरा नष्ट गरिएको छ। खोरका कुखुरा एकै पटकमा धेरै मरे, खुट्टामा र सिउँरमा नीलो भएमा बर्डफ्लु हुनसक्ने उनले बताए। उक्त क्षेत्रमा पन्छीजन्य वस्तु चैत १४ गतेसम्म लैजान रोक लगाइएको छ।