बुटवलको लुम्बिनी प्रादेशिक (लुम्बिनी अञ्चल) अस्पतालले दातृ निकायले अनुदानमा दिएका औषधीसमेत बेच्ने गरेको तथ्य खुलेको छ।
लामो समयदेखि नेपालमा विभिन्न दातृ निकायले महामारीजन्य रोगको परीक्षण तथा उपचारमा अनुदान दिदै आएका छन्। तर बार्षिक साढे ५ करोड भाडा उठाउँदै आएको यो प्रादेशिक अस्पतालले मलेरिया, रेविज जस्ता रोगको परीक्षणमा रकम असुलेको प्रमाण स्पेसखवरले फेला पारेको छ।
अस्पतालले दातृ निकायबाट प्राप्त औषधी तथा किट वेचेर सेवाशुल्कका नाममा रकम असुल्ने गरेको हो। आफ्नै पर्याप्त साधनस्रोत भएको अस्पतालले गरिव विरामीमाथि कालो व्यापार गरेको विरामीको गुनासो छ।
रुपन्देहीको तामनगरका आभाष पौडेलले रेविजको भ्यासिन लगाउन अस्पतालमा जाँदा हरेक पटक एक सय रुपैंया तिर्नु परेको बताए। रुपन्देहीकै राधा थापाले मलेरिया परीक्षणका क्रममा एक सय पचास रुपैया तिर्नु परेको बताइन्।
सेभ दि चिल्ड्रेन-ग्लोवल फण्ड लगायतले सन् २०१२ देखि महामारीजन्य रोगहरुको परीक्षण तथा औषधी उपचार निशुल्क गरिरहेको बताएको छ। स्वास्थ्य मन्त्रालय अन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा मार्फत मलेरिया रेविज, स्क्राटाईपस, डेङगु, कलाजार, हात्तीपाईले लगायतका रोगको परीक्षण तथा उपचारमा लाग्ने औषधी निशुल्क उपलब्ध गराएको छ। तर यस्ता रोग लागेका विरामीले सरकारी अस्पतालमै पुगेर शुल्क वुझाउनु परेको छ।
ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ प्राविधिक अधिकृत धनप्रसाद पौडेल लगायतको टोली केहि दिन अघि बुटवलमा अनुगमनमा आएको थियो। जुन टोलीमा दातृ निकायका प्रतिनिधिहरु पनि सहभागी थिए।
आफ्नै आँखा अगाडि अस्पतालले शुुल्क असुलेको पाएपछि दातृ निकायका प्रतिनिधिहरुले केहि नवोले पनि सहयोग सदुपयोगको हुनुपर्ने बताएका थिए। उनीहरुले अस्पताल प्रशासनसंग वैठक समेत गरेर आइन्दा यस्ता विरामीसंग शुल्क नलिन आग्रह गरेका थिए। महाशाखाका प्राविधिक अघिकृत पौडेलले अस्पतालमा वदमासी भएको पाइएको बताए। उनले भने–‘हामीले मलेरियाको किट तथा रेविजका विरामीसंग पैसा लिएको पायौं,यो गलत हो। तत्काल मेडिकल स्टोरबाट मलेरियाको किट अस्पतालमा पठाएका छौं, आशा छ अव सबै निशुल्क हुनेछ।’
नेपालको संविधानमै हरेक नागरिकको स्वाथ्यको अधिकार सुरक्षित छ। सरकारले अव सबै खालका रोगको उपचार निःशुल्क गर्नेतर्फ काम भैरहेको बताएको छ। तर सरकारी अस्पतालले नै निःशुल्क उपचार त गरेन गरेन दातृ निकायको अनुदानमा पनि आँखा गाड्नु चरम गैरजिम्मेबारीपूर्ण काम हो।
अस्पतालका मेडिकल सुपेरिटेण्डेन कृष्ण खनालले भने अस्पतालले सेवाशुल्क वापत केहि शुल्क विगतदेखि नै लिदै आएको स्वीकारे। उनले अस्पतालमा उपचार गर्न आएपछि केहि शुल्क लिएको तर सबैको चाहना भए त्यो पनि नलिन सकिने तर्क गरे।
७१ प्रकारका औषधी नाम मात्रै
बुटवलको ल्ुम्बिनी प्रादेशिक अस्पतालबाट ७१ प्रकारका औषधी निशुल्क बितरण गर्नुपर्ने सरकारी प्रावधान छ। तर त्यस्तो सुविधा विरामीका लागि आकाशको फल आँखा तरी मर भएको छ। अस्पतालले गरिवका लागि भनेर सिफारिसका आधारमा केही औषधि बाँडेको भए पनि अधिकाँश औषधि विरामीले किन्नु परेको छ।
अस्पताल हातामा रहेको निजी फार्मेसिदेखि वाहिरका दर्जनौं औषधि पसलमा निःशुल्क भनिएका औषधिसमेत किन्नका लागि विरामीको लाईन लाग्ने गर्दछ। दैनिक एक हजारसम्म विरामी उपचारका लागि आउने यो अस्पतालले सटर भाडा, जग्गा भाडा, पार्किङ, फार्मेसी आदिको भाडाबाट मात्रै साढे ५ करोड आम्दानी गरे पनि विरामीको सेवा सुविधाका विषयमा भने पूरै उदासिन देखिन्छ।