मिथिलाञ्चल सहित देशभर होलीको रौनक छाएको छ यतिखेर। पहाडी तथा हिमाली जिल्लाहरुमा आज होली मनाइँदै छ। तर, जनकपुरमा भने १५ दिने मिथिला मध्यमा परिक्रमा अन्तरगृह परिक्रमा गरिसकेपछि मात्र होली मनाइने परम्परा छ।
विहिबार अन्तरगृह (जनकपुर) को परिक्रमा भइसकेपछि शुक्रबार जनकपुरमा होली पर्व मनाइने छ। वसन्त ऋतुको आगमनसँगै सद्भाव र भाइचाराको पर्वको रुपमा लिइने होलीलाई एकअर्काप्रति व्यङ्ग्य गर्ने पर्वको रुपमा समेत लिइन्छ।
आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व अर्थात होली परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ। तर मिथिलामा भने होली पर्वकोे अवसरमा एकअर्कालाई हँस्यौली ठठ्यौली गर्ने समेत परम्परा रहेको छ। मुख्य रुपमा जोगिरा (होलीमा गाइने लोकगीत) मार्फत व्यङ्ग्य गरिन्छ भने होलीमा गाइने यस्ता गीतहरुले पारम्परिक संस्कृतिको छनक समेत दिइरहेको हुन्छ।
होली पर्वको पौराणिक गाथाका विषयवस्तु, ख्यालठट्टा, प्रेमयुक्त र रस मिसिएका मैथिली भाषामा गाइने जोगिरा (फागु गीत) मिथिलाञ्चलमा लोप हुने अवस्थामा छ। र यसको संरक्षण तथा संवद्र्धनकालागि जनकपुरधामको मिथिला नाट्य कला परिषद्ले प्रत्येक वर्ष होरी महोत्सव र महामुर्ख सम्मेलनको आयोजना गर्दै आएको छ। मिथिलाञ्चलमा जोगिरा (होलीमा गाइने मैथिली गीत) सुनिन लगभग छोडिएको बेला मिथिला नाट्य कला परिषद् (मिनाप) यो पुरानो संस्कृतिलाई बचाउन प्रत्येक वर्ष होरी महोत्सव र महामुर्ख सम्मलेनको आयोजना गर्दै आएको हो।
वास्तविक जीवनमा कोहिपनि आफूलाई महामूर्ख कहलाउन नचाहेपनि होलीको अवसरमा दिइने ‘महामुर्ख’ को उपाधि पाउन जनकपुरमा तछाडमछाड हुने गरेको छ। होलीको अवसरमा दिइने महामुर्खको उपाधि पाउने व्यक्ति आफूलाई गौरवान्वित ठान्ने गर्दछन्। उपाधि महामुर्खको रहेपनि पाउने व्यक्ति चर्चित राजनीतिज्ञ, साहित्यकार, कलाकार, सामाजिक अभियन्ताजस्ता हुन्छन्। अन्य वर्षझैं आज जनकपुरमा महामूर्ख सम्मेलनको आयोजना हुँदैछ।
जनकपुरधाममा २०६१ सालबाट महामूर्ख सम्मेलन हुँदै आएको हो। २०६१ सालमा महामूर्खको उपाधी मैथिली कवि नरेश ठाकुर, २०६२ मा एमाले नेता शीतल झा, २०६३ मा जनकपुरधाम नगरपालिकाका तत्कालीन मेयर हरि बहादुर बिसी, २०६४ मा तत्कालिन सदभावना पार्टीका नेता ओमकुमार झा, २०६५ मा बरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल, २०६६ मा पूर्व मन्त्री नेकपाका नेता रामचन्द्र झा, २०६७ मा नेपालका चर्चित राजनीतिक विश्लेषक सिके लाल, २०६८ मा साहित्यकार रामभरोष कापडि़ भ्रमर, २०६९मा नेपाली काँग्रेस प्रदेश दुईको संसदीय दलका नेता रामसरोज यादव, २०७०मा राष्ट्रिय जनता पार्टीका नेता डा. विजय कुमार सिंह, २०७१ मा नेकपाका नेता एवं प्रदेशसभा सदस्य शत्रुधन महतो, २०७२ मा चिहानमा स्वर्गद्वार बनाएर चर्चा बटुलेका पवन सिंघानियालाई महामुर्खको उपाधी प्रदान गरिएको थियो।
२०७३ सालमा सप्तरीको मलेठमा तत्कालिन एमालेले गरेको मेची महाकाली अभियानको क्रममा प्रहरीको गोली लागी ५ जनाको मृत्यु भएपछि अन्तिम समयमा होली महोत्सव कार्यक्रम नै मिनापले स्थगित गरेको थियो।
दुई दिवसीय होरी महोत्सवको पहिलो दिन मंगलावार जोगिरा गायन प्रतियोगिताको आयोजना गरिएको थियो। प्रतियोगितामा धनुषाको जमुनीबास, गिद्धा बेलापट्टी, मंगलपुर, हरिपुर, महोत्तरीको पिपरा र सप्तरीको राजविराजका टोली सहभागी भएका थिए। प्रतियोगितामा धनुषाको जमुनीबासले दमेदार प्रस्तुती दिँदै होरी महोत्सव प्रतियोगिता २०७५ को विजेता भएको थियो। त्यस्तै सप्तरीको राजविराज द्धितिय र धनुषाको हरिपुर तितृय भएको थियो।
वजेता तीनै समुहलाई नेपाली काँगेस्र संसदिय दलको नेता राम सरोज यादवले प्रमाण–पत्र, शिल्ड तथा मेडल प्रदान गरेका थिए। जोगिरा गायन प्रतियोगितामा पहिलो भएका जमुनिवास टोलीलाई ६ भरिको चाँदीको शिल्ड, दोस्रो राजविराज टोलीलाई ४ भरिको चाँदीको शिल्ड र तेस्रो हुने टोलीलाई ३ भरिको चाँदीको शिल्ड प्रदान गरिएको थियो। फागु पर्वको प्रमुख आकर्षण मध्येका महामुर्ख सम्मेलनका लागि मिनापले आधा दर्जनभन्दा बढी व्यक्तिको पहिलो सूची तयार पारेको छ।
सूचीमध्येका एकजनालाई उपाधी प्रदान गरिने जानकारी मिनापका अध्यक्ष परमेश झाले दिए। स्रोतका अनुसार प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउत, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादव, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, उपप्रमुख रीता मिश्र मध्ये कुनै एकजनालाई महामुर्खको उपाधी दिने तयारी भईरहेको छ। महामूर्ख सम्मेलन नेपालको विभिन्न स्थानमा हुँदै आए पनि जनकपुरधाममा यसले निकै उचाई पाएको छ।
तर यसको प्रारम्भ विरगंजबाट भएको हो। मैथिली साहित्य परिषद विरगंज २०५० सालमा पहिलोपटक यो सम्मेलनको आयोजना गरेको थियो। पहिलो पटकको महामूर्ख लाला माधवेन्द्र जी भएका थिए। महामूर्ख सम्मेलन प्रकृतिको कार्यक्रम भारतमा पनि पहिले देखिनै हुँदै आएको छ।