बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २ उपकुलपति भएका छन्।
सरकारले प्रतिष्ठानको आर्थिक, प्रशासनिक कामकाज गर्ने अधिकारसहित रेक्टर डा. गुरु खनाललाई निमित्त उपकुलपति बनाएको छ भने सर्वोच्च अदालतको आदेशअनुसार प्रा.डा. राजकुमार रौनियार पनि उपकुलपति नै कायम छन्।
रेक्टर खनाललाई चैत ४ गते सरकारले प्रतिष्ठानको निमित्त उपकुलपति बनाएको हो। उनले मंगलबार कार्यभार सम्हालेका थिए। फागुन १७ को प्रतिष्ठान सञ्चालक परिषद् सिनेटले गरेको बर्खास्ती सिफारिसका आधारमा सरकारले २६ गते उपकुलपतिबाट हटाएका रौनियारले भने सर्वोच्चको अल्पकालीन अन्तरिम आदेशपछि बुधबार प्रतिष्ठानमा पुनः पदबहाली गरेका छन्। निमित्त उपकुलपति डा. खनालले आफूलाई सरकारले प्रतिष्ठानको जिम्मेवारी दिएर पठाए पनि रौनियारले सर्वोच्च अदालतबाट ‘स्टे अर्डर’ लिएर आएकोबारे पत्र बुधबार ११ बजेमात्र पाएकाले त्यसबारे कानुनी परामर्श गर्ने बताए।
गत फागुन २६ गते हटाएलगत्तै रौनियारले चैत ३ गते अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा रिट दिएका थिए। रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले चैत ४ गते अल्पकालीन अन्तरिम आदेश जारी गरेको आधारमा हाललाई उपकुलपति कानुनी रूपमा आफू भएको रौनियारको दाबी छ। कान्तिपुरमा खबर छ।