यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रदेश ५ मा सम्पन्न गर्न झण्डै ३ करोड बजेट ब्यवस्था गरिएको छ । प्रदेशका सबै १२ जिल्लाका लागि २ करोड ९५ लाख ६७ हजार ५ सय २५ रुपैयाँ निकासा भएको प्रदेश ५ को सामाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालयले जनाएको छ ।
यो रकम जिल्ला जिल्लामा पठाइएको छ । यसमध्ये इकाइका लागि २७ लाख ९४ हजार ७ सय ९५ रुपैयाँ र परीक्षा केन्द्रका लागि २ करोड ६७ लाख ७२ हजार ७ सय ३० रुपैयाँ पठाइएको छ । यसरी पठाइएको बजेट खर्च गर्ने विभिन्न आधार तय गरिएको छ । बजेटबाट केन्द्राध्यक्षदेखि केन्द्रमा खटिने जनशक्तिको पारिश्रमिक दिइने छ । त्यस्तै सुरक्षाकर्मीका लागि खाजा खर्चदेखि उत्तरपुस्तिका ढुवानीसम्म विभिन्न शीर्षकमा खर्च गर्ने गरी तय गरिएको छ ।
प्रदेश ५ मा यसवर्ष ७८ हजार ६ सय ५७ विद्यार्थी एसइइ परीक्षामा सहभागी हुँदैछन् । प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा धेरै विद्यार्थी रुपन्देहीबाट १७ हजार २ सय र सबैभन्दा कम पूर्वी रुकुमबाट १ हजार १ सय ७३ जना सहभागी हुँदैछन् । प्रदेश ५ को सामाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालयका निर्देशक जीतवहादुर शाहका अनुसार रुपन्देहीबाट १७ हजार २ सय, दाङबाट ११ हजार २ सय ७६, बाँकेबाट ८ हजार १ सय ७४, वर्दियाबाट ७ हजार ८ सय ५५, कपिलवस्तुबाट ७ हजार १ सय १५, पश्चिम नवलपरासीबाट ५ हजार ७ सय ७० विद्यार्थी सहभागी हँुदैछन् ।
त्यस्तै पाल्पाबाट ५ हजार ५०, गुल्मीबाट ४ हजार ९ सय ११, रोल्पाबाट ३ हजार ६ सय ७३, अर्घाखाँचीबाट ३ हजार ५ सय ९४ , प्यूठानबाट २ हजार ८ सय ६६ र पूर्वी रुकुमबाट १हजार १ सय ७३ जना सहभागी हँुदैछन् । यीमध्ये प्राविधिक तर्फका २ हजार ३९ विद्यार्थी छन् ।
प्रदेश ५ मा एसईई परीक्षाका लागि झण्डै १२ हजार जनशक्ति परिचालन हुँदैछन् । निर्देशक शाहका अनुसार केन्द्राध्यक्ष ३ सय २३, सहायक केन्द्राध्यक्ष ३ सय ९९,निरीक्षक ३ हजार ८ सय २६, सहायक कर्मचारी २ हजार ३ सय ४० जना खटाइने भएको छ । त्यस्तै सुरक्षाकर्मी ४ हजार ८ सय ४५ जना परिचालन गरिने भएको छ । परिक्षाको तयारी गर्ने क्रममा शिक्षा निर्देशनालयले साढे १४ लाख उत्तरपुस्तिका जिल्ला जिल्लामा पठाएको छ । जसमा मुल उत्तरपुस्तिका ८ लाख ४९ हजार छन् । त्यस्तै थप उत्तरपुस्तिका ५ लाख ९४ हजार ३ सय गरी १४ लाख ४३ हजार ३ सय उत्तरपुस्तिका १२ जिल्लामा पठाइएको छ ।
उत्कृष्ट परीक्षा केन्द्रलाई पुरस्कार
शिक्षा निर्देशनालयले एसइइको परीक्षा मर्यादित रुपमा सञ्चालन गर्न विभिन्न तयारी गरेको छ । केन्द्रमा खटिनेहरुका लागि आचारसंहिता समेत वनाइएको छ । त्यस्तै मर्यादित रुपमा परीक्षा सञ्चालन भएको केन्द्रलाई पुरस्कृत गर्ने गरी बजेटको ब्यवस्था पनि गरिएको छ । प्रत्येक जिल्लाबाट एक उत्कृष्ट केन्द्रलाई एक लाख रुपैयाँ पुरस्कार दिइने बताइएको छ । निर्देशक शाहले १२ जिल्लाका एक–एक वटा केन्द्र गरी १२ वटालाई पुरस्कृत गरिने बताए ।