मकवानपुरकोे विकट राक्सिराङ गाउँपालिका ७ का एक युवा मरणासन्न हुनेगरी कुटिएका छन् । कुटपिटबाट राक्सिराङ ७ का २७ बर्षीय मदन प्रजा (चेपाङ) गम्भीर घाइते भएका छन् । शनिबार साँझ राक्सिराङ ६ का सुरेश ब्लोन र मानबहादुर ब्लोन लगायतका नचिनेको समूहले कमलेडाँडा नजिकै बाटोमा निहूँ खोजेर कुटपिट गरी फरार भएको घाइतेका दाजु पूर्णबहादुरले बताए ।
घाइतेको अनुहारमा गहिरो चोट लागेको छ । कुटपिटपछि बेहोस अबस्थामा छाडेर सुरेश र मानबहादुरको समूह भागेपछि स्थानीयले कपडाको झोलुंगो बनाई बोकेर उपचारका लागि ल्याएका थिए । उनको मनहरीमा आइतबार बिहान सामान्य उपचारपछि थप उपचारका लागि भरतपुर पठाइएको घाइतेका दाजु पूर्णबहादुरले बताए ।
कुटपीट गर्नेहरुलाई कारबाहीका लागि इलाका प्रहरी कार्यालय मनहरीमा जाहेरी दिइएको छ । जाहेरीमा घरेलु सामान किन्नका लागि पसल जाने क्रममा बाटोमा पीडकहरुले अनावश्यक रुपमा सोधखोज गरी पेस्तोल ताकेर कुटपिट गरेको उल्लेख छ । घाइतेसँगै रहेका आकाश र बिनम् प्रजा कुटपिट हुन थालेपछि भागेका थिए । उनीहरुका अनुसार कुटपिट गर्नेहरुले ‘यही बम हानेर मार्दिउँ ?’ भन्दै बिस्फोटक पदार्थ बेरिएको डल्लो समेत देखाएका थिए ।
इलाका प्रहरी कार्यालयले कुटपिट गर्नेहरुको खोजी सुरु गरिएको जनाएको छ । दोषीलाई कारबाही हुनुपर्ने भन्दै स्थानीयबासिन्दाले शान्ति सुरक्षाको माग गरेका छन् ।