विभिन्न खालका कारवाहीमा परेर दिनहुँ ल्याइने मोटरसाइकल राख्ने ठाउँ व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई हम्मे पर्न थालेको छ । कारवाहीमा परेका करिब ४० मोटरसाइकल सिंहदरबारस्थित ट्राफिक प्रहरी महाशाखामा दैनिक ल्याइने गरिन्छ । तर समयमै सवारीधनी लिन नआउँदा तिनीहरुलाई राख्ने ठाउँ अभाव हुने गरेको ट्राफिक अधिकारीहरुले जनाएका छन् । दैनिक १० वटा हिसाबले महिनामा कम्तीमा ३ सय मोटरसाइकल ६ महिनादेखि १ वर्षसम्म थन्किने गरेको बताइएको छ । ट्राफिकले २०६८ देखि मापसे नियन्त्रण अभियान चलाएपछि सवारी नियन्त्रण हुने क्रम बढेको हो ।
मादक पदार्थ सेवन गरी चलाइएका, ट्राफिक संकेतको पालना नगर्ने, सिट क्षमताभन्दा बढी यात्रु राखी सवारी चलाउने,अनधिकृत पार्किङमा राख्ने र चोरीको आशंका गरिएका सवारी साधनलाई नियन्त्रणमा लिएर महाशाखा ल्याइने गरिएका छन् । नियन्त्रणमा लिइएका अधिकांशलाई कारवाहीको विधि अनुसारको प्रकृया पूरा गराई सम्बन्धित धनीलाई जिम्मा लगाइन्छ ।
तर, कतिपय अवस्थामा मापसेमा नियन्त्रणमा लिइएका सवारीसाधन लिन सम्बन्धित धनीहरु महिनौंसम्म आउदैनन् । तिनीहरु ३ देखि ५ महिनासम्म थन्किने महानगरीय प्रहरी प्रभाग थापाथलीका नायब निरीक्षक (सइ) सिद्धिगणेश शाह बताउँछन् ।
राजस्व नतिरिएका साधनहरु लिन आउँदा खर्च बढी लाग्ने र दुर्घटनामा परेका साधन लिन आउँदा झन् झन्झटिलो मान्ने प्रवृत्तिले गर्दा यसरी सवारीसाधनहरु थन्किने गरेको ट्राफिक अधिकारीहरु बताउँछन् ।
लामो समयसम्म थन्किने साधनलाई एयरपोर्ट भन्सार पठाएर लिलामीको प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ । यसवर्षमात्र ५ सय ४८ सवारी एयरपोर्ट भन्सार पठाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिए ।
‘लामो समयसम्म कोही लिन नआएका सवारीसाधनमा चोरीका छन् भने हामीले सामानिक सञ्जालमा सुचना जारी गरेर भएपनि सम्बन्धित सवारी धनीलाई जिम्मा लगाउँछांै,’ एसपी सापकोटाले भने, ‘तर कागजपत्र नभएका र राजस्व नतिरिएका साधनको लामो समयसम्म धनीको टुंगो नलागेको अवस्थामा ६ महिना या १ वर्ष पछि हामी लिलामीका लागि एयरपोर्ट भन्सार (अध्यागमन) मा पठाउँछौ र उतैबाट प्रक्रिया अघि बढ्छन् ।’
– सुरज विश्वकर्मा