सामाजिक विषयको परीक्षा स्थगित भएपछि जनकपुरका विद्यार्थी आन्दोलित भएका छन्।
सामाजिक सञ्जालमा विहीबार नै सामाजिक विषयका प्रश्नपत्र सार्वजनिक भए पछि प्रदेश २ मा आज हुन लागेको सामाजिक विषयका परीक्षा स्थगित गरिएको थियो। परीक्षा केन्द्रमा पुगेपछि परीक्षा स्थगित भएको थाहा पाएका विद्यार्थीहरुले जनकपुरको विडारी चोकमा रहेका मधेस भवन अगाडी विद्यार्थीहरुले प्रदर्शन गरेका छन्।
विद्यार्थीले त्यस क्षेत्रमा सार्वजनिक सवारी साधानमा तोडफोड समेत गरेका छन्। विद्यार्थीहरुको प्रदर्शनले उग्ररुप लिएपछि सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ भने सार्वजनिक सवारी साधान सञ्चालनमा पनि रोक लगाईएको छ।
विद्यार्थीहरुको आन्दोलन पछि प्रदेश २ सरकारका कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादबले अहिले आकस्मिक बैठक समेत बोलाएका छन्। यसअघि विज्ञान विषयमा पनि प्रश्न पत्र बाहिरिए पछि उक्त परीक्षा पनि स्थगित भइसकेको छ। परीक्षामा लापरबाही अरुले गरे पनि हजारौं विद्यार्थीको भविष्यमाथि खेलवाड नगर्न आन्दोलनरत विद्यार्थीले चेतावनी दिएका छन्।
उता, वीरगञ्जको घण्टाघर क्षेत्र पनि तनावग्रस्त भएको छ ।
सामाजिक सञ्जालमा ‘भाइरल’ भएपछि परीक्षा नियन्त्रण कार्यालयले आकस्मिक बोर्ड बैठक डाकेको थियो । बोर्डले बिहान साढे ७ बजे प्रदेश नं २ को सामाजिक विषयको प्रश्नपत्र खोलेर हेरेपछि प्रश्नपत्र आउट भएको पुष्टि भएपछि आज शुक्रबार हुने भनिएको सामाजिक विषयको परीक्षा रद्द गरिएको विरोधमा विद्यार्थीले जिल्ला प्रशासन कार्यालय पर्सामा विरोध जुलुस प्रदर्शन गर्दै नाराबाजी गरेका छन् । विद्यार्थीको सो जुलुसले घण्टाघरमा पुगी टायर बालेर विरोध जनाएको छ ।
विद्यार्थीले घण्टाघरमा रहेको प्रदेश नं २ सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ लेखेको नारासहितको साइनबोर्ड तोडफोड गरेका छन् । त्यसैगरी विद्यार्थीले रु आठ लाखको लागतमा निर्माण भएको सोलारसहितको ट्राफिक बिट र ट्राफिक व्यवस्थापनका लागि घण्टाघरमा राखिएको ट्राफिक सङ्केत भएको बोर्ड तोडफोड गरेका छन् र वीरगञ्ज बजार बन्द गराउँदै हिडेका छन् ।