बारा, पर्सामा आइतबार रातिको आँधी-हुरीबाट पीडितलाई प्रदेश ३ सरकारले १ करोड रुपैयाँ सहयोगको घोषणा गरेको छ।
प्रदेश मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले प्रदेश २ सरकारमार्फत पीडितलाई राहत दिने निर्णय गरेको हो।
यसैबीच, ३ नं प्रदेश संसदले ३ दिनको तलव हावाहुरीले क्षति पारेका पीडितहरुका लागि खर्च गर्ने निर्णय गरेको छ । संसदका कार्यव्यवस्था तथा परामर्श समितिले यस्तो निर्णय गरेको हो । मंगलबार बिहान बसेको बैठकले संसदमा सहभागी ११० जना सांसदको ३ दिनको तलब सहयोग गर्ने निर्णय गरेको जनाइएको छ।
आँधीका कारण बारा र पर्साको फेटा गाउँपालिकाका विभिन्न गाउँहरुमा मानवीय र भौतिक क्षति पुगेपछि मुख्यमन्त्री डोरमणि पौडेल, आन्तरिक तथा कानूनमन्त्री शालिकराम जम्कटेल, सामाजिक विकास मन्त्री युवराज दुलालसहितको टोलीले सोमबार दिउँसो घटनास्थलको अनुगमन गरेको थियो। टोलीले प्रभावित क्षेत्रको निरीक्षणपछि बाराको कलैया अस्पताल र वीरगन्जको नेसनल मेडिकल कलेज पुगेर घाइतेहरुको अवस्थाबारे जानकारी लिएको थियो।
बैठकले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धान्जली, आफन्तजनप्रति समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।