जनकपुर कलाको हिसाबले उर्वर भूमि हो। कला क्षेत्रको नाम आउनेबितिकै महेन्द्र मलंगियाको नाम अग्रपंक्तिमा राख्ने गरिन्छ। मलंगियालाई मैथिली कलाका शेक्सपियर पनि भनिन्छ। तर स्वयं उनी आफैलाई महेन्द्र मलंगिया नै भन्न रुचाउँछन्।
मूल रुपमा उनी नाटककार रहेपनि रंगमञ्चको सबैभन्दा ठूलो नायक मानिन्छन्। गाउँ–गाउँमा छरिएका कलाकारलाई एकत्रित गरि सुदृढ गर्न सबैभन्दा ठूलो भूमिका निर्वाह गरेका छन् उनले।
उनको वास्तविक नाम महेन्द्र झा हो। मैथिली साहित्य र रंगमञ्चको सबैभन्दा ठूलो खम्बा महेन्द्र मलंगियाको जन्म सन् १९४६ जनवरी २० मा बुवा देवनन्दन झा र आमा पूर्णिमा देवीको कोखबाट भएको थियो। उनी बिए अनर्स, बि.एडसम्म अध्ययन पूरा गरी कानपूरमा प्राइभेट जागिर गर्न लागे। तर प्रतिभाका अगाडि उनलाई जागिरमा मन गएन। जागिर छाडेर गाउँ फर्के। हुन त उनलाई जागिर छाडेकोमा अफशोस पनि थियो।
तर उनी यस्तो जागिरको खोजिमा थिए जहाँ उनको प्रतिभा उजागर गरी आर्थिक उपार्जन गर्न सकियोस्। र, उनलाई धनुषाको वभनगामा गाउँमा त्यस्तै जागिर मिलेको पनि भएको थियो। वभनगामा गाउँको विद्यालयमा शिक्षकको रुपमा नियुक्त भएपछि आफ्नो साहित्यिक प्रतिभा जीवन्त राख्ने काममा लागे। विद्यालयका धेरैजसो विद्यार्थीलाई कलाकारको रुपमा विकसित बनाउन महत्वपूर्ण भूमिका उनले निर्वाह गरेका थिए।
उनको जीवनमा तब ठूलो बदलाब आयो जतिखेर उनको भेट योगेन्द्र साह नेपालीसँग भयो। उनले जनकपुर क्षेत्रका कलाकारलाई मिलाएर एउटा टिम बनाएर काम गर्ने निर्णय गरे। त्यो समयमा जनकपुरमा हिन्दी नाटक मात्र मञ्चन हुने गथ्र्यो। जुन उनलाई पचेन। अन्ततः उनले लक्ष्मणरेखा खण्डित नामक पहिलो मैथिली नाटक लेखे जुन वभनगामा स्कुलमा मञ्चन भएको थियो।
नयाँ कलाकारको खोजीमा गाउँ–गाउँसम्म नाटक हेर्न पुग्ने महेन्द्र मलंगियाको सबैभन्दा विशिष्ट पक्ष थियो। उनी कलाकारहरुको खोजी गरी ल्याउथे। शुरुमा योगेन्द्र साह नेपाली, महेन्द्र मलंगियाले आफैं अभिनय गर्थे। तर, जतिखेर नयाँ कलाकारको टिम तयार भयो, उनी अभिनयबाट पछि हटेर नयाँ कलाकारलाई मौका दिए। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका नाट्य विभाग प्रमुख रमेशरञ्जन झा, मिथिलाका पुराना तथा स्थापित नाट्यकर्मीहरु सुनिल मिश्र, रामनारायण ठाकुर, मदन ठाकुर, विष्णुकान्त मिश्र, परमेश झा, अनिलचन्द्र झा, रञ्जु झा, रवीन्द्र झा, प्रियंका झा, अनितारानी मण्डल, प्रकाश प्रेमीलगायतका नाट्यकर्मी उनैका उत्पादन हुन्।
मिथिला नाट्य कला परिषदको नाम उच्च बनाउनेमा उनलाई बिर्सन सकिदैन। नेपालको पहिलो नाट्य संस्थाका रुपमा चिनिएको मिथिला नाट्य कला परिषद् स्थापना गर्ने मुख्य व्यक्ति उनी नै हुन्। उनी यस संस्थालाई अग्रस्थानमा राख्न सधैँ काम गरिरहे जसको फलस्वरुप जनकपुर आजपनि कलाको हिसाबले नेपालमा अग्रस्थानमा आउँछ। तर आजको दिनमा नयाँ कलाकारको खोजी नहुँदा मलंगिया चिन्तित छन्। यसका लागि अग्रज कलाकारहरुले भूमिका खेल्नुपर्ने उनको भनाइ छ।
उनको दुइटा नाटक ओकरा आँगनक बारहमासा र काठक लोक ललित नारायण मिथिला विश्वविद्यालय, दरभंगाको मैथिली पाठ्यक्रममा रहेको छ। यस्तै त्रिभुवन विश्वविद्यालय, काठमाण्डौँको एम.ए. पाठ्यक्रममा पनि समावेश गरिएको छ। मैथिलीका सुपरिचित नाटककार, रंग निर्देशक एवं मैलोरंगका संस्थापक अध्यक्ष मंलगिया। उनी सीनियर फेलोशिप (भारत सरकार), इन्टरनेशनल थिएटर इन्सिच्युट (नेपाल), प्रबोध साहित्य सम्मान आदिबाट सम्मानित भएका छन्। उनी मैथिली हिन्दी, अंग्रेजी र नेपाली भाषाका जानकार, थियेटर शिक्षण, पटकथा लेखन र तत्सम्बन्धी शोधक स्वतन्त्र शिक्षक छन्।
मैथिली नाटकको भविष्य नै नरहेको भन्नु गलत रहेको मंलगिया बताउँछन्। उनका अनुसार मैथिली फिल्महरुभन्दा नाटक नै बढी सफल र रुचाइएका छन्। फिल्मले दर्शकलाई तान्न नसकेको अवस्थामा नाटकको भविष्य राम्रो रहेको उनको ठम्याइ छ। अरुको संस्कृतिको नक्कल गरेर नाटकलाई अगाडि लैजान नसकिने भन्दै उनले नाटकमा आफ्नो संस्कृति हुनुपर्ने बताउँछन्। अहिले मैथिली नाटकमा मैथिली संस्कृतिलाई मिसाउन थालिएकाले आफ्नै संस्कृति बिर्सिए कलाको आत्मा मर्ने उनको भनाइ छ।
उनी २००६ (सिनियर फÞेलो, मानव ससाधन विकास विभाग, भारत सरकार), २००५ ई. मे मैथिली भाषाक सर्वाधिक प्रतिष्ठित प्रबोध सम्मान, उनाप सम्मान, परवाहा (उवा नाट्य परिषद, परवाहा), भानु कला पुरस्कार (कला जानकी संस्थान, जनकपुर), २००४( पाटलिपुत्र पुरस्कार ( प्रांगन थिएटर, पटना), इप्टा पुरस्कार (कटिहार इप्टा, कटिहार), २००३( गोपीनाथ आर्यल पुरस्कार (इन्टरनेशनल थिएटर इन्सिच्युट, नेपाल), यात्री चेतना पुरस्कार (चेतना समिति, पटना), बैद्यनाथ सियादेवी पुरस्कार (बी.एस.डी.पी. काठमाडौँ), २०००( चेतना समिति सम्मान (चेतना समिति, पटना), जिला विकास धनुषा साहित्य पुरस्कार (जिला विकास समिति, जनकपुर), १९९९( विद्यापति सेवा संस्थान सम्मान (विद्यापति सेवा संस्थान सम्मान, दरभंगा), १९९८( रंग रत्न उपाधि (अन्तर्राष्ट्रीय मैथिली साहित्य परिषद, राँची), १९९७( सर्वोत्तम निर्देशक पुरस्कार (सांस्कृतिक संस्थान, काठमाण्डू), १९९१( भानु कला पुरस्कार, विराटनगर (भानु कला परिषद, बिराटनगर), १९९०( सर्वनाम पुरस्कार (सर्वनाम समिति, काठमाण्डू), १९८५( आरोहण सम्मान, काठमाण्डू, १९८३( वैदेही पुरस्कार (विद्यापति स्मारक समिति, राँची ) सम्मानबाट सम्मानित भएका छन्।
दर्जनौँ नाटक एवं शोध गरेका मलंगिया अहिले वर्ण रत्नाकर शब्दको खोजीमा व्यस्त छन्। उनी दिल्लीमा बसेर त्यसको शोध कार्यमा व्यस्त छन् अहिले।