अंग्रेजसँगको युद्धमा नेपालले विजय हासिल गरेको सम्झनामा आउँदो वैशाख ७ गते बुटवलमा जितगढी विजय उत्सव मनाइँदै छ । उत्सव मनाउन बुटवल उपमहानगरपालिकाले तयारी थालेको छ ।
वैशाख ७ को जितगढी विजय उत्सव दिवसमा बुटवलस्थित जितगढी किल्लामा कर्णेल उजिर सिंहको पूर्णकदको शालिक र नेपालको झण्डा फहराउने तयारी गरिएको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, संघीय सरकारका मन्त्रीहरु, राजनीतिक दलका नेताहरु, प्रधानसेनापतिसहितको विशिष्ट टोली सहभागी हुने टुंगो लागिसकेको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताए।
किल्लाको नजिकै रहेका पुरानो नगरपालिका भवन हटाइएको र उक्त स्थानमा प्रदेश सरकारबाट जितगढी युद्ध संग्रहालय (बटौली संग्रहालय) स्थापनाका लागि प्रक्रियासमेत अगाडि बढाइएको छ ।
तत्कालीन इष्ट इन्डिया कम्पनीसँगको युद्धमा नेपाली सेनाले विजय प्राप्त गरेको दिन वि.सं. १८७२ वैशाख ७ गतेको सम्झनामा गतवर्षदेखि बुटवल उपमहानगरपालिकाले औपचारिक रुपमा विजय उत्सव दिवसका रुपमा मनाउन थालेको हो ।
सरोकारवालासँग छलफल
जितगढी सम्पदाको संरक्षण, सम्बद्र्धन तथा प्रचार–प्रसार र वैशाख ७ गतेको विजय उत्सव दिवसका बारेमा उपमहानगरपालिकाले सरोकारवालासँग छलफल गरेको छ ।
जितगढी विजय उत्सव दिवस मूल समारोह समितिको सोमबार बुटवल उपमहानगरमा बसेको बैठकमा सहभागी सरोकारवालाहरुले जितगढीलाई केन्द्रमा राखेर पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा पनि साझा धारणा राखेका छन् । बुटवल उपमहानगरले बनाउन लागेको पर्यापर्यटन सहितको पर्यटन सर्किटमा आफूहरुले सहकार्य गर्ने पनि संघ संथा र निजी क्षेत्रले प्रतिबद्धता जनाएका छन् ।
सोही बैठकमा सहभागीहरुले जितगढीलाई केन्द्रमा राखेर बनाउन लागिएको पर्यटन सर्किटमा प्रभावकारी सहकार्य गर्ने प्रतिबद्धता जनाएको उपमहानगरका प्रमुख शिवराज सुवेदीले बताए ।
मूल समारोहको बैठकमा बोल्दै प्रदेश सभाका उपसभामुख कृष्णी थारुले जितगढी सम्पदाको संरक्षणमा तीनै तहका सरकारको साझा चासो सराहनीय रहेको बताइन् ।
उनले ऐतिहासिक स्थल र सम्पदाहरुको संरक्षणमा निजी क्षेत्र, स्थानीय समुदाय र अगुवाहरुको समेत उत्तरदायित्व रहेको बताइन्।
पुनः उत्खनन् गर्न आग्रह
बुटवल–१, मा रहेको यो ऐतिहासिक जितगढी किल्लालाई पुरातत्व विभागले आव ०५५÷५६ मा उत्खनन सुरु गरेको थियो । त्यतिबेला रोकिएको उत्खनन पुनः २०७० माघ ८ गतेदेखि पुनः सुरु गरिएको हो । त्यहाँ रहेको सुरुङसहितका क्षेत्रको पुनःउत्खननका लागि उपमहानगरपालिकाले पुरातत्व विभागमा आग्रह गरेको उपप्रमुख गुमादेवी आचार्यले बताइन् ।
उपमहानगरपालिकाले जितगढी उत्सवलाई लक्षित गरी नागरिक अगुवा, इतिहासविद्हरु, संस्कृतिविद्हरु, निजी क्षेत्र र सामाजिक संघ संस्थाहरु सम्मिलित समिति गठन गरेको छ ।
अंग्रेजसँगको युद्धमा नेपाली सेनाको नेतृत्व कर्णेल उजीर सिंह थापा व्रिटिश सेनाको नेतृत्व मेजर जनरल उडले गरेका थिए । त्यतिबेला विश्वका धेरै ठाउँमा विजय प्राप्त गरेको तत्कालिन अंग्रेज सेनालाई बुटवल जितगढीमा उजिरसिंह नेतृत्वको नेपाली सेनाले पराजित गरेको थियो ।
सोही दिनलाई बुटवल उपमहानगरपालिकाको ०७४ चैत २६ गतेको कार्यपालिका बैठकले विजय उत्सव दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।