काठमाडौँबाट खोटाङको दिक्तेल आउँदै गरेको बस हलेसीमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ । १४ यात्रु सख्त घाइते भएका छन् ।
ना.४ख ७४११ नम्बरको बस गएराति ११ बजे हलेसी तुवाचुङ नगरपालिका ७, रिट्ठाबोटेमा दुर्घटना हुँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ७, दोर्पाचिउरीडाँडाका ३२ वर्षीय प्रजबहादुर राईको मृत्यु भएको हो ।
दुर्घटनामा सख्त घाइते राईको एम्बुलेन्समार्फत उपचारका लागि जिल्ला अस्पताल दिक्तेल ल्याउने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताए ।
घाइतेमध्ये चालकसहित ७ लाई थप उपचारका लागि काठमाडौँको त्रिवि शिक्षण अस्पताल पठाइएको छ । अन्यलाई उपचारका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको छ ।
दुर्घटनाका घाइतेको नाम अहिलेसम्म खुल्न सकेको छैन । बस सडकबाट चिप्लिएर १५/२० मिटर तल झरेपछि कोल्टिएर अड्किएकाले ठूलो क्षतिबाट जोगिएको इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक भुवनबाबु खड्काले बताए ।