समाचार लेखेकै आधारमा पत्रकार अर्जुन गिरीलाई विद्युतीय कारोबार ऐन मुद्दा प्रक्रिया अघि बढाइएपछि गण्डकी प्रदेशका पत्रकार आन्दोलित भएका छन् । प्रदेशका विभिन्न जिल्लामा आज जिल्ला प्रशासन र प्रहरी कार्यालय अगाडि पत्रकारले धर्ना दिएका छन् ।
पोखराबाट प्रकाशित/प्रसारण हुने आमसञ्चार माध्यमले भाेलि सामूहिक विरोध जनाउने भएका छन् । नेपाल पत्रकार महासंघ कास्कीको आग्रहमा पत्रिकाले सम्पादकीय कोलममा कालो पोतेका छन् । टेलिभिजन र रेडियोले बिहान ६ बजे ९० सेकेन्ड प्रसारण रोक्ने, अनलाइनमा कालो ब्यानर राख्ने भएका छन् ।
महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले अपील जारी गर्दै ताण्डव साप्ताहिकका सम्पादक गिरीले समाचार लेखेकै आधारमा साइबर अपराध अन्तर्गत मुद्दा बढाइनु आपत्ति भएको जनाए । पत्रकार गिरीको रिहाइ माग गर्दै पत्रकारहरुले जिल्ला प्रहरी कार्यालय कास्की अगाडि धर्ना दिएका छन् ।
दर्ता भएको अनलाइनबाट समाचार प्रकाशित हुँदा पत्रकारलाई अवैधानिक तवरबाट झुटा मुद्दा लगाई हिरासतमा लिइनु गैरकानुनी भएको महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए । ‘पत्रकारहरुलाई नियमन गर्ने आधिकारिक निकाय प्रेस काउन्सिलको त्रुटिले पत्रकारलाई फसाइएको छ,’ उनले भने, ‘काउन्सिलले आफ्नो गल्ती सच्याउँदै सिआइबीलाई पत्र पठाइसकेको भए पनि अनेक प्रक्रिया देखाएर म्याद थप गरी हिरासतमा लिनु निन्दनीय हो ।’
बतास अर्गनाइजेसनका सञ्चालक सदस्य विपेन्द्रराज बतासले ठगी गरेको विषयमा समाचार प्रकाशित गरेका गिरीलाई सोमबार सिआइबीले पक्राउ गरेको थियो । उक्त मुद्दामा अनुसन्धानको लागि भन्दै गिरीलाई मंगलबार जिल्ला अदालत काठमाडौंले ३ दिन म्याद थप गरेको छ ।
बतासले पोखराका व्यवसायी मनोज भनिने दालप्रसाद श्रेष्ठ र जनकराज पहारीबाट ४ करोड २३ लाख ठगी गरेको आरोप छ । जिल्ला प्रहरी कार्यालय कास्कीमा बतासविरुद्ध पीडितद्वयले ठगीको जाहेरी दर्ता गराएका छन् । जाहेरी अनुसार मंगलबार अदालतले विपेन्द्रको नाममा पक्राउ पुर्जी जारी गरेको छ ।
त्यस्तै, पत्रकार गिरीको रिहाईको माग गर्दै नेपाल पत्रकार महासंघ गण्डकीले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । ११ वटै जिल्लाका प्रशासन कार्यालय तथा प्रहरी कार्यालय अगाडि नियमित धर्ना दिन आह्वान गरिएको अध्यक्ष त्रिभुवन पौडेलले जानकारी दिए ।
पत्रकार गिरीलाई निशर्त रिहाईका लागि केन्द्रीय महासंघले देशव्यापी आन्दोलनका कार्यक्रम थाल्ने तयारी रहेको केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले जानकारी दिए । दर्ता भएको अनलाइनलाई दर्ता छैन भनेर गलत सूचना दिने प्रेस काउन्सिलका कर्मचारीलाई समेत कारवाहीको माग गरिएको उनले बताए । सोमबार पोखरामा पक्राउ परेका गिरीलाई सोही दिन नै काठमाडौं लगिएको थियो ।
पत्रकार महासंघको रोहबारमा सोमबार उनलाई छाडिएको भए पनि आज बयानपछि म्याद थपिएको हो । गिरीको स्वास्थ्य अवस्था बिग्रिएपछि वसुन्धरास्थित चिरायु हस्पिटलमा भर्ना गरिएको छ ।