देशका विभिन्न भागमा बिहीबार बिहानैदेखि बम तथा शंकास्पद वस्तु फेला परेका छन्। बम भेटिएपछि कतिपय स्थानको जनजीवन प्रभावित बनेको छ।
पोखराको नदीपुरस्थित प्रदेशसभा भवन गेट अगाडि सडकमा भेटिएको शंकास्पद वस्तु डिस्पोज गर्ने क्रममा नेपाली सेनाका नायक धर्मबहादुर थापा घाइते भएका छन्।
डिस्पोज गर्ने तयारी गर्दै गर्दा नेपाली सेनाकै बारुद पड्किदा थापा घाइते भएका हुन्। उनको हातका औंलाहरू चुँडिएका छन्।
काभ्रेको पनौती ७, खोपासी जाने बाटोमा बिहानै शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ । यद्यपि, उक्त शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्कृय पारेको छ।
पाल्पामा विष्फोट
पाल्पाको रिब्दीकोट गाउँपालिका कार्यालय भवनमा बम विस्फोट भएको छ। प्रहरीका अनुसार, विस्फोटबाट भवनमा क्षति पुगेको छ।
रुपन्देहीको कोटिहवा-बाउन्नकोटी सडकमा पनि शंकास्पद वस्तु फेला परेको छ। बम आशंका गरिएको उक्त शंकास्पद वस्तुलाई नेपाली सेनाको टोलीले निष्कृय पारेको छ।
यसैगरी बाग्लुङ नगरपालिका ३ मा पनि पाइप बमजस्तो देखिने शंकास्पद बस्तु फेला परेको छ। बुटवल-भैरहवा खण्डको कोटिहवाबाटबाट बाउन्नकोटी जाने सडकमा बिहीबार बिहानै भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ।
शंकास्पद वस्तुले त्रास
यसैगरी मकवानपुरको हेटौंडा उपमहानगरपालिका ८ नम्बर वडा कार्यालयअगाडि कुकर बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ। हेटौँडा उपमहानगरपालिका ३, तीनताप्केमा पनि प्रेसरकुकर बम फेला परेको छ।
मकवानपुरका अन्य केही स्थानमा समेत शंकास्पद वस्तु भेटिएपछि सर्वसाधfरणमा त्रास फैलाएको छ।
कैलालीका बिभिन्न स्थानमा पनि बमजस्तो शंकास्पद वस्तु भेटिएका छन्। गोदावरी नगरपालिकाको अत्तरिया बजार, बौनिया, लम्की र राजीपुरमा शंकास्पद वस्तु भेटिएको हो । बाँकेको कोहलपुर, मोरङको बेलगाछी, अर्घाखाँचीको सन्धिखर्कमा पनि शंकास्पद वस्तु भेटिएका छन्।
कसले गर्यो दुई गाडीमा आगजनी ?
उता मकवानपुरका थाहा नगर र भीमफेदी गाउँपालिकामा दुई सवारी साधनमा आगजनी गरिएको छ।
जिल्लाको उत्तरी क्षेत्र पालुङबाट हेटौँडातर्फ आउँदै गरेको ना.२च ९०९४ नम्बरको गाडी र भीमफेदी गाउँपालिका ९ मा तरकारी बोक्ने ना.४ख ७९०६ नम्बरको गाडीमा आगजनी भएको प्रहरीले जनाएको छ।
गाडीमा आगजनी गर्ने समूह भने पहिचाहन भइसकेको छैन। आगजनी गर्ने समूहको खोजी भइरहेको प्रहरीको भनाइ छ।
आगजनीको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन। आफ्नो पार्टीमाथि लगाइएको प्रतिबन्ध र नेता-कार्यकर्ता पक्राउको विरोधमा नेत्रविक्रम चन्द समूहको नेकपाले बिहीबार बन्द आह्वान गरेकाले आगजनीमा यही समूहको संलग्नता हुनसक्ने प्रहरीको अनुमान छ।
उता पोखराका दुई स्थानमा शंकास्पद वस्तु भेटिएको छ। गण्डकी प्रदेशसभा भवन प्रवेश गेटअघि शंकास्पद वस्तु भेटिएको छ।
नदीपुरमा रहेको प्रदेशसभा भवन प्रवेश गर्ने गेटअघि शंकास्पद वस्तु भेटिएको हो। त्यसैगरी जिरोकिमिनजिकै पनि शंकास्पद वस्तु फेला परेको छ। कालो टेपले बेरेर राखेको अवस्थामा शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
पूर्वी नवलपरासीमा शंकास्पद वस्तु, बन्दले बजार सुनसान
पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको हेल्थपोष्ट अगाडि शंकास्पद वस्तु फेला परेको छ।
देवचुली नगरपालिका २ मा रहेको दुम्कौली हेल्थ पोष्टअघि रातो झोलामा शंकास्पद वस्तु फेला परेको हो। लक्ष्मी नारायण वस्त्रालय लेखेको कपडाको झोलाभित्र प्लाष्टिकमा बेरेर राखिएको शंकास्पद वस्तु फेला परेको हो।
यसैगरी गैंडाकोट नगरपालिका १३ र १४ को बीचमा पर्ने बेल्डिया पुलमा पनि रातो झोलामा शंकास्पद वस्तु भेटिएको छ। बिहान ५ बजेतिर उक्त वस्तु फेला परेको हो।
बन्दका कारण सवारीसाधन छिटफुट सञ्चालनमा रहे पनि शंकास्पद वस्तु फेला परेपछि प्रहरीले नै सडकका विभिन्न ठाउँमा सवारी साधनलाई रोकेको छ।
बन्दका कारण बजार भने सुनसान देखिएका छन्। बन्दको पूर्वसन्ध्यामा बुधबार साँझ चौधरी उद्योग अगाडि विस्फोट भएको थियो भने अरुणखोलामा राँके जुलुस निकाल्ने क्रममा पुरुषोत्तम रेग्मी पक्राउ परेका थिए। रेग्मी नेकपा जिल्ला सदस्य हुन्।
नवलपुरमा ट्रकमा आगजनी
यस्तै नवलपुरको कावासोती १६ डन्डास्थित पत्थरखोला पुलनजिक रोकिराखेको भारतीय ट्रकमा आगजनी भएको छ। आर जे ०२ जीबी २८७० नम्बरको ट्रकमा आगजनी भएको प्रहरीले जनाएको छ। आगलागीबाट ट्रकको अगाडि भागमा क्षति पुगेको छ। सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले आगो निभाएका थिए।